काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेको अवस्थामा प्रहरीले थप चार जनाको डीएनए नमुना लिएको छ ।
पन्त हत्याको अनुसन्धानलाई सबै पाटोबाट केलाइरहेको बताएको प्रहरीले बुधबार डीएनए परीक्षणका नमुना लिएको हो राजधानीमा खबर छ । संकलित नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा बुधबारै पठाइएको छ । तर, ककसको नमुना लिइयो भन्नेबारे प्रहरीले खुलाएको छैन ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले नमुना काठमाडौं पठाइएको बताउँदै राजधानीसँग भने, ‘हामी अनुसन्धानमा गम्भीर छौं, सबै पाटोबाट थप अनुसन्धानसमेत भइरहेका छन्, लिइएका डीएनए नमुना काठमाडौं पठाएका छौं ।’
उनीहरूको नमुना महाकाली अञ्चल अस्पतालमा संकलन गरिएको थियो । यसअघि प्रहरीले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको डीएनए परीक्षण गरेको थियो ।
तीनै जनाको रगत परीक्षण गर्नेक्रममा निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग मिलेको थिएन । त्यसअघि समेत प्रहरीले डीएनए परीक्षणका लागि भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट र भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका चक्रदेव बडूको समेत डीएनए परीक्षण गरेको थियो । त्यो पनि मेल खाएन ।
कञ्चनपुर भीमदत्तनगर–२ उल्टाखामकी १३ वर्षीया पन्तको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो भने त्यसको भोलिपल्ट ११ साउनमा उनको शव घरनजिकैको उखुबारीमा फेला परेको थियो ।
गृह मन्त्रालयले हत्याको अनुसन्धानका लागि भन्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर छानबिन गरेको थियो । सो उच्चस्तरीय छानबिन समितिले प्रहरीले कञ्चनपुर काण्डमा लापर्बाही गरेको निष्कर्ष निकालिसकेको छ । यस्तै, प्रहरीतर्फबाट समेत आन्तरिक अनुसन्धानका लागि भन्दै छानबिन समिति बनाइएको थियो ।











