दाङ, १८ असोज । जातिय लाञ्छना लगाउँदै तुलसीपुरमा एक बृद्ध कुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ दुधराज स्थित लमैटोलका ६३ बर्षिय कर्णबहादुर कामीमाथि सोही ठाउँका तिर्थ पन्थीले कुलोको पानीको विषयलाई लिएर जातिय लाञ्छना लगाउँदै कुटपिट गरेका हुन् ।

Kutpit_1पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाए पछि आफुले पानी खोल्न जाँदा कुटपिट गरेको कर्णबहादुरले बताए । ‘कामीले पानी छुनुहुन्न’ भन्दै कुटपिट भएको कर्णबहादुरले बताए ।

‘खेतमा पानी चाहार्ने पालो मेरो थियो, म सहित चार जना मिलेर मोहोडाबाट खोला थुनेर पानी ल्याएका थियौँ ।’ कर्णबहादुरले भने, ‘मेरो पालोमा पन्थीले आफ्नो खेतमा हालेपछि मैले पानी खोलेर मेरो खेतमा हाल्न खोजेँ ‘कामीले पनि खेतमा पानी हाल्ने ? भन्दै उहाले मलाई फरुवाले ढाडमा हिर्काउनु भयो’, उनले भने । ‘अहिले औषधी खाइरहेको छु बाहिरबाट चोट देखिन्न । तर राम्रो संग सुत्न सकिदैन’ कामीले भने ।

पन्थी परिवारले आफुलाई पटकपटक कुटपिट समेत गर्दै आएको कर्णबहादुरको भनाइ छ । करिब १० वर्ष पहिले पनि बाउ तामलाल पन्थीले कुटपिट गरेको, केही वर्ष पहिले कृष्ण पन्थीले कुटपिट गरेर र अहिले पनि तिर्थ पन्थीले कुटपिट गरेको बताए ।