काठमाण्डौ, १९ असार
राजधानी ढाकास्थित क्याफेमा भएको आतकंवादी आक्रमणपछि बंगलादेशमा दुईदिने राष्ट्रिय शोक घोषणा गरिएको छ ।
बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा शनिबार भएको आक्रमणमा १७ विदेशीसहित २० जनाको हत्या भएको थियो ।
बंगलादेशको सेनाका प्रवक्ताले बताएअनुसार आइएसआइएस लडाकूहरुले बन्धक बनाइएका अधिकांशलाई धारिलो हतियारले रेटेर बिभत्स तरिकाले हत्या गरेका थिए ।
जवाफी कारबाहीमा ६ आतंकवादी मारिएको र एक जनालाई जिउँदै पक्राउ गरिएको थियो ।
आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता जनाएकी छिन । उनले रमजान जस्तो पवित्र चाडका बेला मुस्लीम समुदायलाई नै हत्या गर्ने कस्ता मुसलमान हुन् भनेर प्रश्न गरिन् ।
उनले आतकंवादी र हिंस्रक चरमपन्थीहरुको सफाया गर्नका लागि कुनै कसर बाँकी नराख्ने संकल्प पनि लिएकी छन् ।।