दाङ, २ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुका लागि आवास निर्माण सहयोगार्थ सोमवारदेखि घोराहीमा शुरु भएको महायज्ञमा भक्तजनहरुको घुइचो लागेको छ ।

bbbघोराहीको कर्मचारी मिलन केन्द्रको दक्षिणतर्फको मैदानमा जारी महायज्ञको दोस्रो दिन भक्तजनहरुको बाक्लो उपस्थिति रहयो । महायज्ञमा कथा श्रवण गर्नका लागि विभिन्न उमेर समूहका व्यक्तिको सहभागिता रहेको छ ।

असोज ९ गतेसम्म सञ्चालन हुने महायज्ञको मुख्य वाचकमा कोमल उपाध्याय रहेका छन् । वाचकको संगीतमय कथा वाचन र राष्ट्रिय ख्यातिप्राप्त दंगाली कलाकार मञ्जिल मोहन कार्कीसहितको भजन कलाकार टोलीको भजन सुन्नका लागि दर्शकहरुको उपस्थिति बाक्लो रहेको आयोजक मूल समितिका संयोजक रुपा वलीले जानकारी दिएकी छन् ।

महायज्ञको तेस्रो दिन वुधवार राम बनबास जाने विषयलाई पनि नाटकको माध्यमबाट प्रस्तुत गरिने छ । प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुइरेपानीमा निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको आवासका लागि सहयोगार्थ महायज्ञको आयोजना गरिएको हो ।

सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा पश्चिम नेपालमा पहिलो पटक आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा दान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । जस अनुसार १ देखि ५ सय सम्म दानपत्रमा दान गरिने, ५ सय १ देखी १ हजारसम्म दान गरेमा रसिद, १ हजार १ देखी २ हजार ५ सयसम्म दान गरेमा रामनामी तथा सादा फ्रेम, ५ हजार १ देखी २५ हजारसम्म दान गरेमा शिलालेखमा नाम लेखिने दाता पहिचान समितिका संयोजक भुपाल गिरीले जानकारी दिए ।

यस्तै २५ हजार १ देखि ५० हजारसम्म दान गरेमा दाताको दम्पतिको नाम शिलालेखमा लेखिने, ५० हजार १ देखि १ लाखसम्म दान गरेमा दोसल्ला, दाताको वुवाआमाको नाम सहित शिलालेखमा नाम, १ लाखदेखि ५ लाखसम्म दान गरेमा दाताको तीनपुस्ताको नाम शिलालेखमा लेखिने, ५ लाखदेखिमाथि दान गरेमा शिलालेखमा दाताको तीनपुस्ताको नामसहित निर्माणाधिन भवनको एक कोठा दाताको नाममा नामाकरण गरिने गिरीले बताए । त्यस्तै २५ लाखभन्दा धेरै दान गरेम निर्माणधिन भवनमा दाताको शालिक निर्माण गरी शालिकको तल दाताको पाँचपुस्ते सहित ताम्रपत्रमा नाम लेखिने छ ।