राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भइरहेको बताएका छन् । उनले केही दिनमै यस्तो प्रस्ताव संसद्मा दर्ता हुने बताएका छन् ।
प्रगतिशील पत्रकार संघले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा केसीले संघीयताको विरोध नगर्न संविधान निर्माणका वेला करोडौंको अफर आएको पनि सुनाए ।
उनले भने, ‘विरोध गर्दा ज्यान मार्ने धम्की पनि आयो । तर, डराइएन । अब राजमोले संघीयता खारेजीको प्रस्ताव दर्ता गर्दै छ ।’ संघीयता विदेशीले बोकाइदिएको भारी भएकाले खारेज गर्नुको विकल्प नभएको उनले प्रस्ट्याए ।
‘विगतमा सती प्रथा, दास प्रथाको विरोध गर्न पनि सहज थिएन, यस्तै पचायतको विरोध गर्दा पनि यस्तै हुन्थ्यो । यो संघीयताको लडाइँ पनि अप्ठ्यारो छ,’ केसीले भने । नयाँ पत्रिकामा यो खबर छ ।











