दिपक बोहरा
तुलसीपुर, ३० साउन । तुलसीपुर ७ का धनराज बादी बबई नदीमा जालबाट माछा मार्ने प्रयास गरिरहेका थिए । माछा मार्न प्रयास गरकोे तीन घण्टा बितेको थियो । तर उनले जालमा एक किलो पनि माछा मार्न सकेका थिएनन् ।
करिब ५ बर्ष पहिले उनले दैनिक ५ किलो भन्दा बढि माछा मार्ने गरेको स्मरण गरे तर पछिल्लो समय दैनिक एक किलो पनि माछा मार्न नसकिने अबस्था रहेको उनले बताए । ‘बिगतमा पाँच किलो भन्दा बढि माछा मार्ने गरेका थियौ’ उनले भने‘तर पछिल्ला बर्षहरुमा एक किलो पनि माछा मार्न धौ धौं पर्छ । ’
माछा मार्ने पेशा वादी समुदायको पहिचान हो । प्राय बादी समुदायले माछा मारेर आफ्नो दैनिकि चलाउँदै आएका छन् । परम्परा देखि माछा मार्दै आएका वादी समुदायको माछा मार्ने पेशा भने पछिल्लो समय धरापमा पर्ने गरेको छ । नदी तथा खोलाहरुमा माछा मारेर दैनिकि चलाउँदै आएका वादी समुदायले रोजिरोटी खोसिएको गुनासो गरेका छन् ।
नदी तथा खोलाहरुमा केरेन्ट लगाएर माछा मार्ने प्रबृति बढेपछि आफुहरुको पेशा धरापमा परेको तुलसीपुर ७ का धनराज बादीले बताए । ‘केरेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ ’ उनले भने ‘यसले गर्दा हाम्रो पेशा धरापमा परेको छ ।’ पुर्खा देखि माछा मार्दै आएका बादी सामुदायको पेशा धरापमा पर्ने गरेको उनले बताए ।
करेन्ट लगाएर माछा मार्दा आफुहरुलाई दैनिकि चलाउन समेत धौ धौ भएको उनले बताए ।‘बिगतमा माछा मारेर दैनिकि चलाएका थियौं’उनले भने‘ तर पछिल्लो समय माछा मारेर दैनिकि चलाउन सक्ने अबस्था छैन् ।’ बिगतमा आफुहरुले दैनिक ५ किलो सम्म माछा मार्ने गरेको भएपनि अहिले करेन्ट लगाएर माछा मार्ने प्रचलन बढेकाले दैनिक एक किलो भन्दा बढि माछा मार्न नसकिएको सोही ठाउँका हरिराम बादीले बताए । ‘पहिले पहिले दैनिक ५ किलो भन्दा बढि माछा मार्ने गरेका थियौ’ उनले भने‘ तर हिजोआज एककिलो भन्दा बढि माछा मार्न सकिदैन् ।’ यसले गर्दा आफुहरुलाई दैनिकी चलाउन कठिन भएको उनले बताए ।
बिगतदेखि माछा मार्दै आएका बादी समुदायले अहिले आफुहरुले माछा मारेर दैनिकि चलाउन नसकेको बताए । अहिले करेन्ट लगाएर माछा मार्ने गरेकाले माछा पनि मार्न नसकिने र अन्य काम पनि नपाउने भएकाले बादी समुदायले दैनिकि चलाउन समस्या भएको गुनासो गरेका छन् । दाङका अधिकांस बादी समुदायले माछा मार्ने पेशा अंगाल्दै आएका छन् । उनीहरुले माछा मार्ने भन्दा अन्य पेशा नपाउँदा दैनिकि चलाउन समेत समस्या भएको बताएका छन् । ‘हामीले पुर्खा देखि गर्दै आएको पेशा भनेको माछा मार्ने नै हो’ धनराज बादीले भने‘ तर अहिले माछा मार्ने पेशा धरापमा पर्ने अबस्थामा छ ।’ यसमा राज्यले बिशेष ध्यान दिनुपर्ने उनले बताए ।
नदी तथा खोलामा करेन्ट लगाएर माछा मार्नु गैरकानूनी भएपनि राज्यले यसलाई नियमन गर्न नसक्दा आफुहरुजस्ता माछामार्ने पेशा अंगालेकालाई समस्या भएको उनले बताए ।‘नदी तथा खोलामा करेन्ट लगाउनु गैरकानूनी मानिन्छ’उनले भने‘तर यसलाई राज्यले पनि नियमन गर्न सकेको छैन् ।’
अब राज्यले आफुहरुजस्ता बादी समुदायलाई रोजगारको ब्यबस्था गर्नुपर्ने बताए ।‘महंगी पनि बढेको छ’ उनले भने‘ यसमा राज्यले हामीलाई बिशेष ध्यान दिनुपर्छ ।’ अहिले दाङको, बबई, ग्वारखोला, सेवारखोला, राप्ती नदी,सिसिरखोला,पातुखोलालगायतमा खोलामा माछा मारेर बादी समुदायले दैनिकिचलाईरहेका छन् ।
दाङमा ४ हजार भन्दा बढी बादी समुदायको बसोबास छ । राज्यबाट समेत उपेक्षामा परेका बादी समुदायको परम्परादेखि चल्दै आएको पेशा समेत खोसिएको गुनासो गरे । आफुहरुको पेशा सुरक्षाका लागि राज्यले समेत कुनै चासो नदिएको उनले गुनासो गरे । ‘हामील राज्यबाट समेत उपेक्षामा परेका छौं’ धनराज बादीले भने‘राज्यले हाम्रो पेशा सुरक्षाका लागि कुनै पहल थालेको छैन् ।’











