इन्द्रेणी संवादादता
घोराही, १८ असार
सेवाग्राहीका लागी सरकारी निकायहरु अझै पनि उत्तरदायी वन्न सकेका छैनन । सेवाग्राहीहरुले दुख, सास्ती भएको गुनासो गर्न छोका छैनन भने सरकारी निकाय पनि त्यसमा गम्भिर नभएको देखिन्छ । जिल्ला विकास समिति दाङको आयोजना तथा जिल्ला प्रशासन र सञ्चार चौतारी दाङको समन्वयमा घोराहीमा भएको जिल्ला स्तरीयक सार्वजनिक सुनुवाईमा सहभागी सेवाग्राहीले सरकारी सेवा प्रबाह अझै सेवाग्राही मैत्री नभएको गुनासो गरे ।
सरकारी सेवा प्रबाहमा अझै पनि ढिलासुस्ती, भ्रष्टाचार र गैरजिम्मेवारी जस्ता व्यवहारहरु देखिने गरेको भन्दै सुधारमा ध्यान दिनुपर्नेमा उनिहरुले जोड दिए । सेवा दिन बसेका कर्मचारीहरु सेवक भन्दा पनि शासक हुने गरेको नागरिकहरुको गुनासो छ । सेवाग्राहीको गुनासो वा कामलाई आफ्नै समस्या ठानेर काम गर्ने पारिपाटीको बिकास हुन सकेको भन्दै नागरिकहरुले ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुनै पर्नेमा जोड दिएका छन् ।
सरकारले दिएको सेवा पाउन पनि नागरिकहरुले अनाबस्यकरुपमा कर्मचारीलाई पैसा दिनुपर्ने, वोली व्यवहारमा मिठास नहुने र काममा ढिलासुस्ती जस्ता समस्याको अन्त्य गर्न आबस्यक भएको बताएका छन् । स्थानिय बिकास अधिकारी रमेश गौतमको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा करिब ३२ वटा सरकारी कार्यालयका प्रतिनिधीहरुले आफुहरुले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए ।
सरकारी कार्यालयहरु अपांगमैत्री नभएको, शिक्षा समितिले पूर्णता नपाएको, सार्वजनिक सम्पत्तीको दुरुपयोग हुदै गएको, ढुंगाजन्य बस्तुहरुको अबैध निकासी, सामुदायिक विद्यालयले चर्को शुल्क उठाउने गरेको, काभ्रे र लोहारपानीका किसानको सैयौँ बाख्राहरु मर्दा समेत जिम्मेवार नभएको जस्ता समस्याहरु नागरिकहरुले उठाएका थिए ।
नागरिकहरुको प्रश्नको जवाफ दिदै सरकारी कर्मचारीहरुले आगामी दिनलाई सेवाप्रबाहलाई चुस्तदुरुस्त बनाउदै लैजाने प्रतिबद्धता जनाएका छन् । विगतका दिनहरुमा भएका कमीकमजोरीलाई सच्याउदै सेवाप्रबाहलाई नागरिक मैत्री बनाउने सरकारी कर्मचारीहरुले प्रतिबद्धता जनाएका हुन् ।।