कोलम्बो प्लान अन्तर्गत डाक्टर बनेर बिरामीको शल्यक्रिया गर्न नपाएका कृष्णबहादुर महराले कानुनका धाराको शल्याक्रिया गर्ने उपल्लो निकाय प्रतिनिधि सभाको नेतृत्व सम्हालेका छन्। के कारणले डाक्टर बन्ने सपना पूरा भएन? सभामुख महराले स्पेसखबरसँगकाे कुराकानीमा यसरी खुलाए कारणः
रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविबाट मैले स्कूल शिक्षा पूरा गरें। स्कूल शिक्षा पूरा गरेपछि सोही विद्यालयमा लगातार १२ वर्षसम्म पढाएँ। गणित र विज्ञान जस्ता असाध्यै अप्ठेरा विषय पढाउँथे। कुनै दिन बिहान १० देखि अपरान्ह ४ बजेसम्म सातवटै पिरियड पनि पढाएँ। शिक्षक भएर पढाएका ती दिन सम्झदा आज पनि मलाई निक्कै आनन्द लाग्छ। विद्यार्थीमार्फत अभिभावकसंग सम्बन्ध गाँसिएको थियो, ती दिनमा जो अहिले छैन। हरेक विद्यार्थीका परिवारसंग सामिप्यता थियो। त्यसो हुँदा जनताको स्थिति कस्तो छ भन्ने कुरा सिधै थाहा पाइन्थ्यो। यसबाट सामाजिक अबस्थाबारे बुझ्न सहज हुन्थ्यो। त्यसकारण ती दिन मेरा लागि खुसीका दिन थिए।
मेरो बिगत बिचित्रको छ। आइएससी पास गरेपछि मेरो लक्ष्य डाक्टर बन्ने थियो। त्यसका लागि कोशिस पनि नगरेको होइन, एकाध ठाउँमा गरें। २०३६ सालतिर कोलम्बो प्लान अन्तर्गत दुर्गम जिल्ला भनेर डोल्पालाई एमबीबीएसको एउटा कोटा छुट्याइएको थियो। रोल्पा डोल्पासंग जोडिएकाले कोलम्बो प्लानका लागि डोल्पाबाट कोही नभएपछि छिमेकी जिल्ला रोल्पाको पालो आउँथ्यो। त्यसकारण म निवेदन दिन आएको थिएँ काठमाडौंमा। जतिबेला केन्द्रीय राज्यसत्तामा मेरो पहुँच पनि थिएन। पछि थाहा भयो म भन्दा पहिला नै डोल्पाको नामबाट अरु कसैले निबेदन दिइसकेको रहेछ। यसबारे धेरै कोशिस गरेपछि त्यतिबेलाका मन्त्रीहरुलाई भेटेर पनि भनेको थिएँ। बास्तबमा आफ्नो सोर्सफोर्स नभएपछि मैले अबसर पाउन सकिनँ।
डाक्टर बन्ने मेरो लक्ष्य पूरा भएन। त्यसपछि मेरो जीवनको बाटो बदलियो, मास्टर भइयो। जब चक, डस्टर लिएर कक्षाकोठामा प्रबेश गरें, त्यतिबेला अब जीवनभर कुुशल मास्टरका रुपमा जीवन बिताइन्छ भन्ने मलाई लागेको थियो। मास्टर हुँदाहुुँदै नेता भइयो। नेता पनि कहाँ गएर यसको अन्त्य हुन्छ थाहा थिएन। म यो ठाउँमा पुगौला भनेर कहिल्यै सोचेको पनि थिइन्। देश र जनताको पक्षमा मेरो आबश्यकता छ भने म जुनसुकै ठाउँमा बसेर पनि काम गर्छु। म यही हुुनुपर्छ भन्ने हिसाब गरेर कहिल्यै पनि बस्दिनँ। हिजो मास्टर हुँदा यहाँसम्म आइपुग्छु भन्ने मेरो सोच पनि थिएन। मैले पढेको र पढाएको विद्यालय अहिले जिल्लाकै उत्कृष्ट विद्यालयमा पर्दछ। जसका लागि मैले आफ्नो तर्फबाट पनि सहयोग गर्दै आएको छु।
कुनै पनि विद्यालय सामाजिक उत्तरदायित्वबाट पन्छिन मिल्दैन। विद्यालय शिक्षा चुनौतीरहित छैन। शिक्षालाई अगाडि बढाउन राष्ट्रिय बजेटको कम्तिमा २० प्रतिशत यो क्षेत्रमा छुट्याउनु पर्छ। तर, हामीले त्यति बजेट यो क्षेत्रमा छुट्याउन सकिरहेका छैनौं। शिक्षालाई जनताको मौलिक हक अन्तर्गत परिभाषित हुनुपर्छ। अहिले सरकारी, सामुदायिक विद्यालय, निजी विद्यालय छन्। सरकारी विद्यालय समुदायमा हस्तान्तरण त भएका छन्। तर, तिनीहरु निजीतिर जाने क्रम शुरु भएको छ। यो अबस्था हेर्दा शिक्षा उल्टो दिशातिर अघि बढेको देखिन्छ। जसले गर्दा शिक्षा राज्यको दायित्वबाट पन्छिन खोजेको हो कि भन्ने आभाष भएको छ।
पछिल्ला आर्थिक वर्षका बजेटले पनि त्यसको संकेत गरेको छ। शिक्षा राज्यको दायित्वभित्र परिभाषित हुनुपर्छ। राज्य अहिले जसरी अगाडि बढेको छ त्यो शिक्षालाई उपयुक्त हुने खालको छैन। अहिले कैयौं विद्यालयमा पर्याप्त दरबन्दी छैन। स्रोतसाधनको कमी छ। यसो हुँदा जनताले पैसा उठाएर आफ्ना बालबालिका पढाउनु पर्ने अबस्था छ। यो स्थिति लामो समय टिक्ला जस्तो लाग्दैन। यस्तो अबस्था लामो समयसम्म रहेमा भोलिका दिनमा हुनेखानेको मात्र शिक्षामा पहुँच हुनेछ। अर्थिक रुपमा विपन्न परिवारका बालबालिकाले पढ्न नपाउने अबस्था आउने हो कि भन्ने चिन्ता बढेको छ। त्यस्तो अबस्था राज्यका लागि पनि दूर्भाग्यपूर्ण हुनेछ। त्यसकारण यसमा आमूल परिबर्तन गरेर शिक्षाको दायित्व राज्यले लिनैपर्छ। यो वा त्यो बहानामा सरकार शिक्षाको दायित्वबाट पन्छिन मिल्दैन।
सहकर्मी शिक्षकहरु विभिन्न खाले पेशामा आबद्ध हुनुहुन्छ। कोही राजनीतिमा, कोही सरकारी सेवामा, कसैले व्यवसाय गर्नु भएको छ, कोही शिक्षण पेशामै हुनुहुन्छ। बेलाबेलामा भेटघाट हुन्छ विगतलाई कोट्याएर समीक्षा गर्छौं। मन पर्ने एक–दुई जना शिक्षक हुनुहुन्थ्यो। उहाँ अहिले हुनुहुन्न। कोही अहिले पनि हुनुहुन्छ। अंग्रेजी र गणित पढाउने शिक्षक हुनुहुन्थ्यो रुपनारायण पुन। उहाँ अहिले हुनुहुन्न। उहाँ मेरो मन पर्ने शिक्षक हुनुहुन्थ्यो। जसले गृहकार्य पूरा गरेर ल्याउँथे त्यस्ता विद्यार्थी सबैभन्दा बढी मन पर्थे। त्यस्ता विद्यार्थी कोही इन्जिनियर छन्, कोही विदेशमा छन्। एकजना विद्यार्थी अमेरिकाकै नागरिक भएर त्यहाँ बस्नु भएको छ।
राजनीति त त्यतिबेला पनि थियो। हामी शिक्षकबाटै राजनीतिमा प्रबेश गरेका हौं। तर, पढाइमा असर नपर्ने किसिमको राजनीति थियो। आज पढाइमा धेरै राजनीति हावी भएको छ। जसका कारण गुणस्तर ह्रास भएको छ। अध्ययन अध्यापन कमजोर हुने किसिमले राजनीति हावी हुनु हुँदैन। राजनीति आफ्नो ठाउँमा छ। राजनीतिमा आस्था राख्न पाइन्छ। संगठन गर्न पनि पाइन्छ। पहिलो कुरा त पेशा हो नि। शिक्षा क्षेत्रमा सरकारले प्रभावकारी निगरानीमा राख्नुपर्छ। स्पेसखबर बाट











