काठमाडौं, १४ साउन । साउदी अरबमा जेलजीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षार्थ सहयोग रकम धमाधम प्राप्त हुने क्रम जारी रहेको छ । यसैक्रममा सोमवार सभामुख कृष्णबहादुर महराले ५० हजार, राप्ती समाज कोरियाले पठाएको २ लाख ६२ हजार ८ सय ५६ र अभिमत पुन मगरले कतार एयरलाइन्सबाट पठाएको ३५ हजार ६७ रुपैयाँ गरी ३ लाख ४७ हजार ९ सय २३ रुपैयाँ दिलबहादुर घर्तीका श्रीमती मनिका बुढामगरलाई सभामुख निवासमै हस्तान्तरण गरिएको छ ।

संघीय संसद्का सभामुख कृष्णबहादुर महराले दिएको ५० हजार रुपैयाँ धर्मपत्नी सीता महराले मनिका बुढामगरलाई हस्तान्तरण गरेकी थिइन् । त्यस्तै, राप्ती समाज दक्षिण कोरियाले संकलन गरेको २ लाख ६२ हजार ८ सय ५६ रुपैयाँ समाजका सल्लाहकार लालबहादुर महरा र पूर्व वरिष्ठ उपाध्यक्ष नेमकुमार वलीले मनिका बुढालाई हस्तान्तरण गरेका थिए । त्यस्तै, कतार एयरलाइन्समा कार्यरत नेपालीहरुबाट अभिमत पुनमगरको सक्रियतामा संकलित ३५ हजार ६७ रुपैयाँ दिलबहादुर घर्ती बचाउ अभियान मूल समितिका सचिव जीवन रोकामगरले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्ती समाज दक्षिण कोरियाका सल्लाहकार लालबहादुर महराले रकम हस्तान्तरण गर्दै खबर सुन्नुबित्तिकै सहयोग संकलन अभियान सञ्चालन गरेको र दिलबहादुर घर्तीको जीवनरक्षा भएर भेट्न पाउने आशा व्यक्त गरे । उनले दक्षिण कोरियामा रहेका सहृदयी नेपालीहरुको सहयोगबाट यो रकम जम्मा भएको र एउटा राम्रो काममा हात बढाउन पाएकोमा खुशी व्यक्त गरेका थिए । त्यस अवसरमा दिलबहादुर घर्तीकी श्रीमती मनिका बुढामगर र दिलबहादुर घर्ती बचाउ अभियान मूल समितिका सचिव जीवन रोकामगरले सहयोग गर्ने सबैप्रति नमन र आभार व्यक्त गरेका थिए ।