नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १०० सीमास्तम्भ गायब भएका हुन् ।
बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही क्षेत्रका २ सय ७५ सहायक स्तम्भमध्ये पाँचवटा नदीले बगाएको छ भने तीनवटा हराएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले १९ भन्दा बढी जीर्ण स्तम्भ मर्मत हुन नसकेको बताए । बर्सेनि आउने बाढी र कटानले नेपाल–भारत छुट्याउने सीमास्तम्भ बगिरहेको केसीले बताए । ‘सीमास्तम्भ बाढीले बगाएको र हराएको भन्ने जानकारीमा आएको छ,’ उनले भने । बाँकेमा नेपाल–भारत छुट्याउने मुख्य र सहायक गरी तीन सय सात सीमास्तम्भ छन् ।
नेपाल–भारत सिमानाअन्तर्गत बर्दियामा दुई सय ४५ सीमास्तम्भमध्ये मुख्य सातसहित ९३ स्तम्भ हराएका छन् । बबई नदीको बाढी र कटानका कारण तीनवटा सीमास्तम्भ जोखिममा रहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । ०७१ र ०७४ को बाढीले ठूला, मझौला र साना ३२ स्तम्भ बगाएको उनले बताए । ‘बाढीले सीमास्तम्भ बगाए पनि पुनर्निर्माण हुन अझै सकेको छैन,’ उनले भने । नयाँ पत्रीकामा खबर छ ।











