एजेन्सी– उत्तरी थाइल्याण्डमा दुई हप्तादेखि फसेका बालक फुटबल खेलाडीहरुको समूहबाट कम्तिमा चारजना बाहिर निकालिएका छन् । उनीहरुलाई थाई सेना र गोत्ताखोरहरुको टोलीले उद्धार गरेका हुन् । बाहिर निकालिएका बच्चालाई अस्पताल लगिएको छ । अब बचाउ अभियान सोमबार शुरु हुनेछ । वर्षाको सम्भवाना बढेपछि उद्दारकर्ताहरुले आइतबार यो खतरनाक अभियानलाई अघि बढाउने निर्णय गरेका थिए ।
अहिले गोताखोरहरुले १२ बालक र एक कोचहरुलाई लिएर गुफाको अन्धकार र ठाँउ–ठाँउमा पानीमा पुरै डुबेको बाटोहरुबाट लिएर अघि बढिरहेको रिपोर्ट आएको छ । उनीहरुलाई समूहमा उद्दार गरिंदैछ ।

यो अभियानलाई कति समय लाग्छ भने अझै स्पष्ट भएको छैन । बाहिर निस्कन सफल भएका दुई बालकहरु ‘राम्रो अवस्थामा रहेको’ रिपोर्ट आएको छ । भोको र थकित ती दुई बालकहरुको अहिले गुफाको मुखमा प्राथमिक उपचार गरिदैंछ । एक स्थानीय प्रहरीका अनुसार त्यसपछि उनीहरुलाई थप उपचारको लागि हस्पिटल लगिनेछ ।
स्थानीय समयअनुसार विहान १० बजे १८ जनाको अन्तर्राष्ट्रिय गोताखोरहरुको उद्धार समूहले यो खतरनाक मानिएको अभियान शुरु गरेको थियो । हुनत उद्धारको पूर्ण तालिका नभए पनि स्थानीय समयअनुसार राती ९ बजेसम्म सबैलाई निकालिसक्ने योजना गरेको गभर्नर नरोङसकले भने ।

हिजो राती पानीको सतह १२ इन्चसम्म तल झारिएपछि यस उद्धार अभियान अघि बढाउन आत्मविश्वास बढेको थियो । यो पानीको मात्रा घटेपछि गुफाको ४ कि.मि. मध्य अधिकांश बाटो हिडेरै निस्कन सकिने बताइएको छ ।

पहिले थाई मिडियाहरुले फसेका बालकहरुलाई चार समूह बनाएर निकाल्ने योजना भएको बताएका थिए । योजना अन्तर्गत पहिलो समूहमा चार बालक निकाल्ने, त्यसपछि तीन चरणमा तीन–तीन जना गरेर उद्धार गरिने बताइएको थियो ।

तर हाल पहिलो चरणमा दुई जनामात्र निकालिएपछि उक्त योजना बदलिएको जस्तो देखिन्छ । रातोपाटीबाट जस्ताको तस्तै साभार ।











