जाजरकोट, २३ असार । जाजरकोटको सदरमुकाम पहिरोको उच्च जोखिममा रहेको छ । भेरी नगरपालिका–३ र ४ मा पर्ने खलंगा बजारका न्यूरोड, शान्तिचौतारा, सिमलगैरी, थाप्ले र याला पहिराको उच्च जोखिममा छ ।

jajarkot-शान्तिचौतारादेखि थाप्लेसम्मका सडक किनारामा रहेका तीन दर्जन घर जोखिममा परेका हुन् । त्यहाँ सवारी आवागमनमा रोक लगाइएको छ । न्यूरोडमा करीब १०० मिटर सडक पहिराले छोपेको छ । मापदण्डअनुसार सडक निर्माण तथा ढल निकासको व्यवस्थापन नहुँदा बजारभित्र ठूलो पहिरो जानाका साथै दर्जन स्थानमा सडक भासिएको छ ।

“तत्काल पहिरो रोकथाम र ढल निकासको व्यवस्था नगरे बस्ती नै बग्ने खतरा छ”, स्थानीयवासी कमानबहादुर खड्काले भने “अलिकति पानी पर्नेबित्तिकै पहिरो जान थाल्छ ।”

भिरालो भूबनोटको खलंगामा अव्यवस्थित सडक निर्माणले जोखिम बढाएको स्थानीयवासीको गुनासो छ । रुपैडिहादेखि तेन्जे भेरी करिडोरको बाइपासका रूपमा रहेको शान्तिचौतारा–कालेगाउँ सडक स्तरोन्नतिका क्रममा ग्याभिन र नाली निर्माणलगायत काम गुणस्तरीय नभएको उनीहरूको भनाइ छ ।

सडक निर्माणका क्रममा न्यूरोड सबैभन्दा बढी जोखिममा परेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले खलंगा–रिम्ना सडक स्तरोन्नतिका लागि गतिलो डिजाइन नबनाउँदा र गुणस्तरीय निर्माणमा ध्यान नदिँदा ठाउँठाउँमा पहिराको जोखिम बढेको भेरी नगरपालिका–३ का वडाध्यक्ष लीलाबहादुर शाहले बताए ।

१२ करोड लागतको सडक स्तरोन्नति रोजेन्द्ररजलजला जेभी काठमाडौँले गर्दै आएको छ । न्यूरोडको पहिरो नियन्त्रण गर्न रु एक करोडभन्दा बढी बजेट आवश्यक पर्ने वडाध्यक्ष शाहको भनाइ छ ।

ठाडो भित्तामा भवनसंहिता तथा प्राविधिक डिजाइनविना चार र पाँचतले घर निर्माण गर्नु जोखिम निम्त्याउने अर्को कारण हो । नगरपालिका क्षेत्रभित्र नाली र ढलको उचित व्यवस्था छैन ।

यस्तो अवस्थामा यहाँ पहिराको जोखिम टार्न स्थानीय सरकारले नभ्याउने र तत्काल माथिल्लो निकायले पहल नथाले ठूलो धनजनको क्षति हुने भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले बताए ।