तुलसीपुर, २० असार । अपाङ्गहरुका समस्या समाधानका लागि उपमहानगरका तर्फबाट विशेष कार्यक्रम सञ्चालन गरिने तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् ।
उनले अपाङ्ग भएका व्यक्तिहरुको तथ्यांक संकलन भइरहेको वताउँदै तथ्यांकका आधारमा कार्यक्रम वनाउने समेत वताए । उनले उपमहानगरमा नयाँ वन्ने संरचनाहरुलाई अपाङ्गमैत्री रुपमा निर्माण गरिने समेत वताए । अपाङ्गहरुलाई समाजमा वोझको रुपमा भन्दा पनि उनीहरुलाई अवसर प्रदान गरेर सृजनात्मक काममा लगाउनुपर्ने समेत उनले वताए ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विल चेयर वितरण गरिने कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले समाजमा अपाङ्गता भएकाहरुले पनि सम्मानित जीवन वाँच्न सक्ने वातावरण निर्माण गर्ने वताए । “अपाङ्गता भएकाहरुलाई हामीले अवसर दिनुपर्दछ, उनीहरुका सम्भावना खोतल्ने काम गर्नुपर्दछ” नगरप्रमुख पाण्डेले भने । कार्यक्रममा वोल्दै वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले अपाङ्गहरुलाई अवसर दिए काम गरेर देखाउन सक्ने वताए ।
एलडिएससीको सहयोगमा यस क्षेत्रका २० अपाङ्गहरुलाई ट्राई साइकल र ह्विल चेयर प्रदान गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा अपाङ्ग समाज सुधार संस्थाले उनीहरुलाई ह्विल चेयर प्रदान गरेको थियो । संस्थाका अध्यक्ष होताराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टिकाराम वलीले गरेका थिए ।











