घोराही, १८ आसर । घोराही उपमहानगरपालिका वडा नं. १३ देखि वडा नंं १९ जोड्ने सेवारखोलाको लापेमा झोलुंगे पुल निर्माण भएको छ । झण्डै २४ लाख रुपैयाँको लागतमा वडा नम्बर १३ लापेदेखि वडा नं. १९ साधनधोक्रे जोड्ने झोलुंगे पुलको निर्माण भएको हो ।

DSC_2421सेवा प्रतिष्ठान तुलसीपुरले जिम्मा लिएर सेवारखोलामा बनेको उक्त पुलको सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गरे ।

जिल्ला समन्वय समिति जिल्ला प्राविधिक कार्यालयको २१ लाख २ हजार ९ सय ५४ रुपैयाँ, घोराही उपमहानगरपालिकाको १ लाख ३७ हजार १ सय ४८ रुपैयाँ र उपभोक्ताहरुको ४५ हजार ७ सय १६ रुपैयाँ गरि २२ लाख ८५ हजार ८ सय १० रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।

पुल निर्माण भए पछि वडा नम्बर १३ का खानीगाउँ, कोलबन, मलार गाउँका १ सय ५० बढी घरधुरीका १ हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिए ।

पुल नहुदा त्यस भेगमा नागरिकहरु सडकमा पुग्नका लागि धेरै हिड्नु पर्ने र बर्षायाममा भेल आउदा खोला पारी नै बास बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।