तुलसीपुर, १५ असार । तुलसीपुर उपमहानगरपालिका भित्रको विद्युत समस्या समाधान हने भएको छ । अनियमित विद्युत र लो भोल्टेजका कारणले जनतालाई सास्ति भएपछि उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उर्जामन्त्री वर्षमान पुनलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् ।

mayor pandeyनगरप्रमुख पाण्डेले सिमेन्ट उद्योगमा गएको विद्युतको व्यवस्थापन गरेर लो भोल्टेजको समस्या समाधान गर्न पनि आग्रह गरेका हुन् । उर्जामन्त्री पुनले तुलसीपुरमा रहेको विद्युतको समस्या समाधानका लागि आफुले पहल गर्ने वताउँदै नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्गलाई निर्देशन समेत दिएका थिए ।

उनले विद्युतको समस्या सधैका लागि समाधान गर्नका लागि तिव्रतर गतिमा काम भइरहेको समेत वताए । “हामीले निरन्तर काम गरिरहेका छौ, छिटै यसको दीर्घकालिन समाधान पनि हुन्छ ” उर्जामन्त्री पुनले भने ।

यता नेपाल विद्युत प्राधिकरण तुलसीपुर प्रशाखा प्रमुख दिपकजंग चौधरीले लो भोल्टेजको कारणले जनताले दुख पाएको भन्दै त्यसको समाधान गर्नका लागि आफुले पहल गरिरहेको वताए । “हामीले केही गर्न सक्दैनौ, माथिबाट आदेश आयो भने सिमेन्ट उद्योगको विद्युतलाई व्यवस्थापन गरेर समाधान गर्न सकिन्छ ” चौधरीले वताए । उनले तत्कालको समस्या समाधान गर्नका लागि सिमेन्ट उद्योगको व्यवस्थापन गर्न आवश्यक रहेको समेत वताए ।