बुटवल, १ असार । आर्थिक वर्ष २०७५ /७६ का लागि प्रदेश नम्बर पाँचले झण्डै २७ अर्बको बजेट ल्याउन लागेको छ । प्रदेश सभाको ४ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजनासमेत मन्त्रालय सम्हाल्दै आएका मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
यो प्रदेशमा सङ्घीय सरकारको १६ अर्ब, प्रदेशको स्रोतबाट ८ अर्बका साथै २ अर्ब राजस्व सङ्कलन हुने योजनासहित बजेट तयार पारिएको छ । यो प्रदेशको नीति तथा कार्यक्रम बुधबार मात्रै पारित भएको थियो ।
यो प्रदेशमा आर्थिक वृद्धि हासिल गर्ने, युवा श्रमशक्तिलाई नेपालमै स्वरोजगारी उपलब्ध गराउन सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा रोजगारीका अवसर सिर्जना गर्ने बजेटको प्राथमिकतामा राखिएको छ । त्यस्तै यो प्रदेशले विद्युत्, खानेपानी, सिँचाइलगायत क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइएको छ ।











