काठमाडौं, २४ जेठ । गृहमन्त्री रामबहादुर थापाले सुुन तस्करी प्रकरणमा अब ठूला माछा (कारोवारी) पनि पक्राउ पर्ने बताएका छन् ।

Badalथापाले आफू गृहमन्त्री भएपछि कार्यभार सम्हालेको एक सय दिनमा यातायात सम्बद्द समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गर्ने जस्ता उल्लेखनीय कार्य भएको बताए ।

“सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन्, अब ठूला माछा पनि पक्राउ पर्दैछन्”, उनले भने । सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार, तस्करी र अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा मन्त्रालयले सक्रिय रुपमा काम गरिरहेको उनको भनाइ थियो ।

उनले सुशासन कायम गर्न विद्यमान तस्करी, आपराधिक घटना र गतिविधि निस्तेज गर्न लक्ष्यसहित ८२ बुँदे गृह प्रशासन सुधार योजना बनाउनाका साथै ३७ बुँदे निर्देशन सबै जिल्ला प्रशासन कार्यालयमा पठाइएको जानकारी दिँदै यसै अनुसार काम अघि बढिरहेको पनि बताए ।