काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपालको पहिचान विश्व जगतमा चिनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको बताएका छन् । गन्तव्य नेपाल ग्रुपको १४ औं वार्षिकोत्सव तथा टुरिजम म्यान अफ दि इयर प्रदान कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो बताएका हुन् ।
‘पर्यटन व्यवसाय नेपालको आर्थिक समृद्धिको आधार त हो नैै’, सभामुख महराले भने, ‘नेपालको भौगोलिक, ऐतिहासिक, साँस्कृतिक जनजीवन र सभ्यतालाई विश्व जगतमा चिनाउन पर्यटन व्यवसायले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’
नेपालको पर्यटकीय स्रोत साधनका हिसाबले निकै धनी भएको भन्नुहुँदै सभामुख महराले नेपालको पर्यटन विकासका लागि स्पष्ट नीति र दृष्टिकोण चाहिएको बताए । अबदेखि नेपालमा स्थायी सरकार बन्ने प्रक्रिया शुरु भएको भन्नुहुँदै उनले नेपालको पर्यटन व्यवसायलाई समृद्ध बनाउन सरकारले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए ।











