रेखा मगर
घोराही, १५ असार
गैरकानुनीरुपले ढुंगाजन्य बस्तुको उत्खनन् र निकासीमा प्रयोग गरिएका ५ वटा गाडीहरुलाइ दाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको ग्वारखोलामा वालुवा उत्खनन गरी निकासी गरिरहेका ४ वटा ट्याक्टर र एउटा जेसिभीलाइ नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
नियम विपरित उत्खनन् भइरहेको थाहा पाएपछि प्रहरीले ग्वारखोला वाट ति गाडीहरुलाइ नियन्त्रणमा लिएको हो । दाङका खोलाहरुबाट अवैध र अनुमति विना ढुंगा, गिटटी र वालुवाको उत्खनन तथा निकासी रोकिएको छैन ।
प्रहरीले दैनिक जसो उत्खन र निकासीमा संलग्न गाडीहरु नियन्त्रणमा लिएर कारवाहीका लागी सम्वन्धित निकायमा पठाएपनि उत्खनन र निकासी भने रोकिएको छैन । प्रहरीका अनुसार रातको समयमा अवैध रुपमा ढुंगाजन्य वस्तुको उत्खनन हुने गरेको छ ।।
