सल्यान, ३ जेठ । ग्रामीण क्षेत्रमा विद्युतको पहुँच पु¥याउने उद्देश्यले निर्माण गरिएका लघु जलविद्युत आयोजना खर्चिला बन्दै गएको छ । जिल्लाको बागचौर नगरपालिका–१२, बाफुखोलामा सञ्चालित १७ किलोवाटको यो आयोजना मेशिनरउपकरण बिग्रने, कम विद्युत् उत्पादन, लोडशेडिङलगायत समस्याले खर्चिलो बन्दै गएको हो ।

Clipboard02-13स्थानीय मूलखोला, उमखोली र मुर्केखोलीको पानीमा आधारित आयोजनाले २०६८ सालदेखि उत्पादन थालेको थियो । उक्त परियोजनाको बिजुली स्थानीय ओख्रेनी, चौरडाँडा, देउपुरीडाँडा, दोभानबजार, जङ्गलेलगायत गाउँका २ सय २० घरधुरीले प्रयोग गरिरहेका छन् ।

ओख्रेनीका गुमाण डाँगीले पछिल्लो केही वर्षयता परियोजनाको विद्युत् महशुल महँगो बनेको गुनासो गरे । ‘केन्द्रीय लाइन भएको भए महशुल कम तिर्नुपथ्र्यो, महशुल महँगो नै भए पनि टीभी, कम्प्युटर चलाउन पाइन्थ्यो,’ उनले भने, ‘यसले त केही चलाउन पाइँदैन, बत्ती बाले पनि नबाले पनि २ सय तिर्नुपर्छ ।’ सो आयोजनाको बिजुलीले मोबाइल चार्ज गर्न र छोराछोरीलाई उज्यालोमा पढ्न–लेख्न मात्रै सजिलो भएको उनले बताए ।

आयोजनाका उपकरण पुरानो हुँदै जाँदा बिग्रन थालेकाले मर्मत गरिरहनुपर्ने बाध्यता रहेको परियोजना अप्रेटर गौरीलाल वलीले बताए । ‘सानातिना समस्या उपभोक्ताबाट उठाएको महशुल खर्चेर समाधान गर्छौं,’ उनले भने, ‘ठूला सामान मर्मत गर्न वा फेर्नुपरेमा उपभोक्ताबाट पैसा उठाउँछौं ।’ सल्यानमा मात्रै होइन रुकुम, जजाजरकोट लगातका जिल्लाहरुमा निर्माण भएका लघु जलविद्युत आयोजना पनि खर्चिला बन्दै गएका छन् । उपकरणहरु पुराना हुँदै गएपछि आम्दानीभन्दा पनि वढी खर्च वढी लाग्ने गरेको हो ।