दिपक बोहरा
तुलसीपुर १९ बैशाख । प्रायः ठुला हून्, या साना कार्यक्रम । सबैजसो कार्यक्रममा अतिथिलाई स्वागत तथा सत्कारका लागि बिद्यार्थीहरुलाई प्रयोग गरिन्छ । चैत बैशाखको चर्को घाम होस्, या त पुस माघको कठ्याङ्ग्रिदो जाडो । घामलाई घाम, जोडोलाई जोडो, अनी पानीलाई पानी नभनी बिद्यार्थीहरुलाई अतिथिको स्वागतमा खटाईएको हुन्छ । चैत्र बैशाखको गर्मीमा अतिथिहरु पालमुनीको सितलतामा आन्न्द लिईरहेका हुन्छन्, तर तिनै अतिथिलाई स्वागत गर्न खटिएका बिद्यार्थीहरु चर्को गर्मीमा उभिन बाध्य हुन्छन् ।
बिभिन्न कार्यक्रम,मेला,महोत्सब, महायज्ञ, शान्ति पदयात्रा, सरकारी तथा गैरसरकारी निकायले आयोजना गरेका भब्य कार्यक्रमहरुको उद्घाटन गर्दा ¥यालीमा बिद्यार्थीहरुलाई नै सहभागि गराईएको हुन्छ । भने अतिथिहरुको स्वागत सत्कारमा पनि तिनै बिद्यार्थीहरुलाई प्रयोग गर्ने गरेको कुरा दाङका लागि पनि कुनै नौलो होईन् । बालबालिकालाई बिद्यालयबाहेक अन्य कुनै पनि कार्यक्रममा सहभागि गराउन नपाईने प्राबधान हुँदा हुँदै पनि बिद्यालयहरुले त्यो प्राबधानलाई लत्याईरहेका छन् ।
बालबालिकाको शारिरीक, मानसिक, संबेगात्मकबिकास बाहेक अन्य कुनै पनि काममा बिद्यार्थीहरुलाई प्रयोग गर्न नपाईने दाङका शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख रमेश मैनालीले बताए ।‘बिद्यार्थीहरुलाई बिद्यालयका गतिबिधि बाहेक कुनै पनि कार्यक्रममा सहभागि गराउन पाईदैन्’ उनले भने‘ तर बिद्यालयहरुले त्यो प्राबधानलाई अटेर गर्ने गरेका छन् ।’ बिद्यार्थीलाई यस्ता गतिबिधिमा सहभागि गराउँदा उनीहरुको पठनपाठनमा समस्या पर्ने उनले बताए । शैक्षिक क्रियाकलाप बाहेक अन्य क्रियाकलापमा सहभागिता गराउँदा बिद्यार्थीहरुले गर्न हुने, र नहुँने कामहरु छुट्याउन नसक्ने उनले बताए ।
उनीहरुको बाल मस्तिष्कमा नकारातमक असर पर्ने उनको भनाई थियो । त्यसैले बिद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप बाहेक अन्य क्रियाकलापमा सहभागि गराउँन नहुने उनले बताए । तर बिद्यालयले प्राबधान बिपरित स्वार्थपूर्ति गर्न बिद्यार्थीहरुलाई प्रयोग गर्ने गरेको उनले बताए । गलत काम गर्नेहरुको बहुमत बढि भएकाले पनि शिक्षामा देखिएका यस्ता बिकृति अन्त्य गर्न नसकिएको उनले बताए । ‘शिक्षा क्षेत्रमा यस्ता थुप्रै नराम्रा कार्यहरु भएका छन्’ उनले भने‘ गलत कार्य गर्नेहरुको सञ्जाल ठुलो भएकाले नीति,नियम कार्यान्वयनमा चुनौती थपिएको छ ।’
कार्यान्वयन गर्न आग्रह
शिक्षा बिभागले सबै बिद्यालयहरुलाई बिद्यालयका क्रियाकलाप बाहेकका क्रियाकलापमा सहभागि नगराउन निर्देशन दिएको छ । बिभिन्न सभा समारोहहरुमा अतिथिहरुको स्वागतका लागि बिद्यार्थीहरुलाई लाईनमा राख्ने,माला खादा लगाउने, फूल गुच्छा दिने जस्ता कार्यमा संलग्न नगराउन निर्देशन दिएको हो ।











