माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२९ औं मजदुर दिवसको शुभकामना दिएका छन् । यस्तो छ उनले दिएको शुभकामना पत्रमा ।

हाम्रो पार्टी १२९ औं मई दिवसको अवसरमा नेपाल र विश्वका मजदुरहरुसँग जुझारु ऐक्यवद्धता सहित हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ । नेपाली जनताको मुक्तिकामी आन्दोलनमा श्रमिक वर्गको त्याग, तपश्या र बलिदानप्रति हाम्रो पार्टी हार्दिक कृतज्ञता अर्पण गर्दछ ।

मई १ सन् १८८६ मा आठ घण्टाको कार्य दिवससहित अमेरिकी मजदुरहरुले शिकागो सहरमा गरेको संघर्षको स्मरण स्वरुप विश्वभरका मजदुरहरुले आजको दिनलाई मई दिवसका रुपमा मनाउँदै आएका छन् । अमेरिकी श्रमिकहरुको यही संघर्ष नै पेशागत हक, हित र सुरक्षाका लागि विश्वका मजदुरहरुको प्रेरणास्रोत बन्यो ।

देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको यस सन्दर्भमा सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य आवश्यकता बनेको छ । अग्रगामी कम्युनिष्टहरुबीचको ध्रवीकरणले मात्र मुक्तिकामी श्रमिक वर्गको हक र अधिकारको सुनिश्चितता गर्न सकिन्छ । त्यसका लागि समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार हो ।

संविधानको सफल कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि मजदुर वर्गले आगामी दिनमा अग्रदस्ताको भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदुरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।