काठमाडौंँ, १७ वैशाख। वाम दलका दुई अध्यक्षले छिट्टै पार्टी एकता गर्ने घोषणा गरे पनि दुई नेताबीचको भेटघाट र वार्ता नियमित हुन सकेको छैन । यसले पार्टी एकता प्रक्रियाका विषयमा अन्योल सिर्जना गरेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयबीच शुक्रबार एकता प्रक्रियाका विषयमा सामान्य छलफल भए पनि ठोस सहमति बन्न सकेन । त्यसपछि अर्को बैठक बस्ने मितिको टुङ्गो नलागेको अध्यक्षद्वयको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री आइतबार प्रदेश ५ को कार्यक्रममा व्यस्त रहे। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहे । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी एकताको विषय दुई अध्यक्षको खल्तीमा रहेकाले यस विषयमा अरूलाई केही जानकारी नभएको बताए ।
अध्यक्षद्वयबीचको बैठक र संवादको मितिबारे समेत आफूहरूलाई जानकारी नगराइएको उनले बताए । आजको गोखापत्रमा खबर छ प्रधानमन्त्री उपत्यका बाहिर रहेकाले दुबैजना आएपछि दुई अध्यक्षबीचको वार्ताले निरन्तरता पाउने रिमालले विश्वास व्यक्त गरे ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच वार्ताबारे मिति तय भइसकेको छैन । प्रधानमन्त्री उपत्यका बाहिर रहनुभएकाले बैठक र संवादमा विराम लागेको उनले बताए । यद्यपि गएको शुक्रबारसम्म दुई अध्यक्षबीच वार्ता र संवाद नियमित भए पनि सहमतिबारे केही नबताइएको उनले जानकारी दिए ।










