काठमाडौं, १७ बैशाख । तस्करीको ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा मोरङ प्रहरीले डिएसपी प्रजित केसीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार नियन्त्रणमा लिएका केसीलाई विराटनगरस्थित जिल्ला अदालतबाट संगठित अपराध तथा मानव अपहरण र कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद लिएको छ । उनी महानगरीय अपराध महाशाखामा कार्यरत छन् । डिएसपी केसीसहित सुन प्रकरणमा पक्राउ पर्ने प्रहरीको संख्या ६ पुगेको छ ।
हालसम्म केसीसहित पूर्वडिआइजी गोविन्द निरौला, मकवानपुरका एसपी विकासराज खनाल, इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत डिएसपी सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका छन् । सो प्रकरणका ३८ आरोपीमध्ये २८ जना पक्राउ परेका छन् ।
यसरी संगठन बनाए गोरेले
सुन तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती उर्फ गोरेका बाबु पूर्वप्रहरी थिए । उनको परिवार मोरङ इटहराको झुनाबारीबाट ०५० सालतिर उर्लाबारी बसाइँ सरेको थियो । गोरेले भारतीय सेनामा चार वर्ष जागिर खाएर छाडेका थिए । त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कुवेत गए । उर्लाबारीमा सामान्य हैसियतमा रहेको उपे्रती परिवार गोरे विदेश गएपछि असामान्य देखियो । गोरे फर्किएपछि उनीहरू काठमाडांैको गौरीधारामा बस्न थाले । गौरीधारामा गोरेले चारतले घर बनाएका थिए ।
वैदेशिक रोजगारीमा गएका गोरे सुन तस्करको भरिया बनेका थिए । भरिया बन्दाबन्दै उनी आफैँ सुन कारोबारमा लागे । त्यसपछि उनले भाइ रमेश उप्रेतीलाई कुवेत पठाएर आफू नेपालमा बसेर कारोबार विस्तार गर्न सक्रिय भए । तस्करीलाई व्यवस्थित गर्न उनले संगठन बनाएका थिए । हत्या गरिएका सनम शाक्य र अपहरणमा परेका मोहन काफ्ले दुई वर्षदेखि उनको संगठनमा थिए । उनले सबै प्रहरीसँग मामाको साइनो लगाएर सेटिङ मिलाउने गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षागार्ड प्रमुख भएका डिआइजी गोविन्द निरौला गोरेका बुवाका साथी भएकाले उनले सजिलै प्रभावमा पारेका थिए ।
गोरे गिरोहमा सामेल हुनुअघि उर्लाबारीकै सनम र मोहन स्थानीय तहमा सानोतिनो ठेक्कापट्टा गर्थे । वेलावेला उर्लाबारी आएर रवाफ देखाउने गोरेले मोहन र सनमलाई सहजै लोभमा फसाएर संगठित गरेका थिए । सनम ०७२ साउनदेखि गोरेको कारोबार हेर्ने गरी नियुक्त भए । सनमकी पत्नी सुनिताका अनुसार दुवैलाई गोरेले काठमाडौंस्थित आफ्नो घरमै बस्ने कोठा उपलब्ध गराएका थिए । सँगै पढ्ने साथी भएकाले सनम, मोहन र गोरे परिवारको आत्मीयता गहिरो थियो । सनम गोरेको काम हेर्न थालेपछि दुई वर्षमा चारपटक मात्र घर आएका थिए । आएको वेला पनि उनी घरमा समय दिँदैन थिए । यसैले आमा कल्पनाले बुहारीलाई काठमाडांै घुमाउन लैजान कर गरेकी थिइन् ।
आमाले धेरै कर गरेपछि सनमले पत्नी सुनितालाई काठमाडांै लगेका थिए । त्यतिवेलै सुनिताले गोरेको गौरीधारस्थित चारतले घर देखेकी थिइन् । उर्लाबारीवासी भएकाले गोरेको परिवारले उनको राम्रो खातिरदारी गरेको थियो । मोहनले पनि वेलावेला परिवारलाई काठमाडौं लगेर घुमाउने गरेका थिए । सम्पत्ति कमाएपछि गोरेले आफ्ना बुवा नेत्र र आमा विनादेवीलाई काठमाडौं लगेका थिए । करिब सात–आठ वर्षदेखि गोरेका आमाबुवा र गोरे वेलावेला उर्लाबारी आएर बस्ने गरेका थिए । नयाँ पत्रिकाबाट











