शरद पोख्रेल
प्रिय छोरा
तिमी आफैले उड्नुछ माथिसम्म
सूर्यको नजिक सम्म
चन्द्रको नजिक सम्म
र ल्याउनु पर्नेछ
हाम्रा साँघुरा र अँधेरा कोठाको लागि
एक अन्जुली उज्यालो शीतल।
तिमी आफैले पुग्नु पर्नेछ माथी सम्म
जालझेलका झाडीहरू पन्छाउदै
आफ्नो बाटो आफै बनाउदै
लड्दै उठ्दै र दौडदै
पुग्नु पर्नेछ पहाडैसम्म
र ल्याउनु पर्नेछ केही जडीबुटीहरू
बूढी आमाको लागि भरोसाको मलम
बूढा बाको लागि पैंयूको लौरी
बूढो घरको पुराना भित्ताका लागि
संरक्षणको धुर्मिलो कमेरो
र तिम्रो आफ्नै लालीगुराँसका लागि रङहरू।
तिमी परैसम्म पुग्नु पर्नेछ छोरा
कोशी नदीसम्मै।
र ल्याउनु पर्नेछ
एउटा आशालाग्दो कुलेसो
डोर्याउदै डोर्याउदै
महामारीमा फुटेका ओँठहरूको लागि
गोठमा बाधिएका समृद्धिहरूको लागि
डलरले बिर्साएर बाँझिएको बारीको लागि
र फुलाउनु पर्नेछ
ती ओँठहरूमा आशाको मुस्कान
मुर्झाउनु पर्नेछ ती गोठाहरूबाट
जीवनको लय
र बिउझाउनु पर्नेछ ती बारीहरूबाट
हरियो जिन्दगी।
प्रिय छोरा
मैले तिमीलाई केही सिकाउनेछैन
सिकाउन सकेको पनि छैन
सिकाउन सक्ने पनि छैन
जस्तो कि
– ठूली किन कम्लरी बसी
– माइल्दाई किन हली बने
– जुठे काका किन दुईबीसमै असी भए
– सानेले किन पढाइ छाड्यो
र तिम्रा बा किन तिम्रो बाल्यकालमा
तिम्रो अगाडि छैनन्?
-यी सबै सबैको जबाफ
मैले समयलाई छोडेको छु।
त्यसैले छोरा
तिमी ती चरा पढ्नू
ती पहाड पढ्नू
ती नदी पढ्नू
र पढ्नू मान्छेहरूका आँखा।
यी सबैले तिमीलाई समय सिकाउनेछन्
र समयले तिमीलाई जिन्दगी सिकाउनेछ।










