काठमाडौँ, ३० चैत । सरकारी वकिलले लापरबाही गर्दा दीपक मनाङे भनिने राजीव गुरुङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुनरावेदन गर्ने म्याद सकिएको छ । सरकारी वकिलले समयभित्र पुनरावेदन नगरेपछि मनाङेको सम्पत्ति शुद्धीकरणसम्बन्धी विशेष अदालतको फैसला नै अन्तिम भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषबाट उनले सफाइ पाएका छन् ।

dipak-manageसरकारवादी हुने मुद्दाको प्रतिरक्षा र पुनरावेदन पनि सरकारी वकिलले नै गर्ने व्यवस्था छ । तर, मनाङेको मुद्दामा सरकारी वकिलले हदम्याद गुजारेर सर्वोच्चमा पुनरावेदन गर्न गएपछि अदालतले मुद्दाको दर्ता नै अस्वीकार गरेको छ । गोरखापत्रमा खबर छ- विशेष अदालत ऐनअनुसार विशेषले गरेका फैसला चित्त नबुझ्ने पक्षले नियमित समय ३५ दिन र विशेष कारण भएमा १५ दिन म्याद थामेर मुद्दा दर्ता गर्न मिल्ने व्यवस्था छ । तर, मनाङेको मुद्दा ६१औँ दिनमा मात्र पुनरावेदनका लागि सर्वोच्चमा पेस भएको थियो ।

सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले हदम्याद गुजारेका कारण पुनरावेदन दर्ता नभएको बताए । पन्थीले भने , “विशेष अदालत ऐनअनुसार थाम्न पाउने समयसहित ५० दिनभित्र पुनरावेदन दर्ता भइसक्नु पथ्र्यो । तर, मुद्दा ६१औँ दिनका दिन पेस भएका कारण हदम्यादका कारण दर्ता नभएको हो । ”

मुद्दा पुनरावेदनको जिम्मा पाएको महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार तत्कालीन महान्यायाधिवक्ता वसन्तराम भण्डारीको कार्यकालमै पुनरावेदनमा जाने निर्णय भएको थियो । फौजदारी मुद्दा फाँटलाई जिम्मा लगाइएको उक्त मुद्दा दर्ताका लागि व्यक्ति भने तोकिएको थिएन । पुनरावेदनको म्याद नै गुजारेपछि महान्यायाधिवक्ता कार्यालय यस विषयमा मौन छ ।

विशेष अदालतले मनाङेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गत भदौ ४ गते फैसला गरेको थियो । विशेषले मनाङेलाई भूतप्रभावी कानुनअनुसार सजाय गर्न नमिल्ने भन्दै सफाइ दिएको थियो ।