भैरहवा, २५ चैत । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम एक वर्षमा काम सम्पन्न गर्ने निर्देशन दिएका छन् ।
विमानस्थलको अनुगमन गर्न पुगेका मन्त्री अधिकारीले भैरहवा विमानस्थलको काम मुलुकको प्रतिष्ठासँग जोडिएको भन्दै जसरी पनि एक वर्षमा काम सम्पन्न गर्ने निर्देशन दिएका हुन् ।
‘यो देशको प्रतिष्ठासगँ जोडिएको विषय हो । विमानस्थलको काम छिटो सम्पन्न गर्नमा सरकारबाट के कस्तो सहयोग चाहिन्छ त्यो भन्नुस्’, अनुगमनको क्रममा उनले निर्देशन दिदै भने, ‘के गर्नहुन्छ, कसरी गर्नुहुन्छ, मलाई अरु थाहा छैन । तर, मलाई एक वर्ष भित्रमा यो आयोजना सम्पन्न गरेर दिनुपर्छ ।’
उनले सबैले मिलेर काम गरे अबको ९ महिनामा नै विमानस्थलको काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । एडीबीले अगामी जुन महिनासम्म विमानस्थलको कुल ५० प्रतिशत काम सक्नुपर्ने विषयमा मन्त्री अधिकारीले ७० दिन समय रहेको भन्दै प्रत्येक दिनको कामको योजना, मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने बताए ।
सँगै मन्त्री अधिकारीले एडीबीलाई जुनसम्म ५० प्रतिशत काम सम्पन्न गर्नुपर्ने भए पनि ६० प्रतिशतको लक्ष्य लिएर काम गर्न आग्रह गरे । अधिकांश आयोजना अन्तिम समयमा आएर ‘फेल’ भयो भन्ने गरेको उदाहरण दिँदै उनले कामलाई तिब्रता दिन निर्देशन दिएका हुन् । प्रत्येक दिन आयोजना ‘फेल’ हुदैछ कि पास हुदैछ भन्ने ‘वाच’ गरेर समयमा काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले तालिका अनुसार काम भइरहेको बताउँदै मन्त्रीलाई निर्माणधीन विमानस्थलको अवस्थाबारे जानकारी गराए । हाल विमानस्थलमा टर्मिनल भवन, धावनमार्ग, प्रशासनिक भवन, कन्ट्रोल टावर, पानी ट्यांकी लगायतको काम भइरहेको छ ।
वर्षा अघि धावनमार्गको पिच गर्नभन्दा अघिको र टर्मिनल भवनको छाना हाल्नुभन्दा अघिको काम सम्पन्न हुने आयोजना प्रमुख शर्माले बताए । अन्नपूर्णमा खबर छ विगतमा विमानस्थलको काम सुस्त गतिमा भएपनि चिनियाँ कम्पनीले चीनबाट नै कामदार ल्याएर तिब्र गतिमा काम जारी राखेको छ ।











