काठमाडौं, २२ चैत। नेकपा एमाले–नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । पार्टी एकताको विषयमा ठोस निष्कर्ष निकाल्ने उद्देश्यका साथ वसेको बैठक विना निष्कर्ष नै सकिएको छ ।
आज बिहिबार बिहान ९ बजेदेखि बसेको बैठकमा कार्यदलमा सहमति जजुटेका विषयमा सहमति जुटाउने भनिए पनि सहमति नभएको र यसका विषयमा पुनः २७ गते छलफल हुने माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि २७ गते मात्रै छलफल गरेर ती विषयमा टुङग्याउने बैठकले निर्णय भएको पनि उनले बताए ।
‘पार्टी एकता घोषणा बैशाख ९ मा गर्ने सहमति भयो, एकता घोषणासभाका लागि त्यसअघि देशभर प्रचारप्रसार गर्ने निर्णय भयो’, नेता श्रेष्ठले भने । एमाले र माओवादी नेता कार्यकर्ताहरूलार्इ ९ गते हुने एकताको तयारी थाल्न निर्देशन दिएका छन् ।
एकीकृत पार्टीको चुनाव चिह्न के हुने र विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने की नराख्ने भन्ने विषयमा ओली भारत भ्रमणबाट आएपछि छलफल हुने बताइएको छ । माओवादी नेताहरुले सूर्यसँगै हँसिया हथौडा पनि चुनाव चिह्न राख्दा एकताको भावना झल्किने तर्क गर्दै आएका छन् भने एमाले नेताहरुले सबैले चिनिसकेको र लोकप्रिय रहेकाले सूर्य मात्रै चुनाव चिह्न राख्नुपर्ने अडान राख्दै आएका छन् ।











