इन्द्रेणी संवाददाता
काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चैत २३ गतेबाट गर्न लागेको भारत भ्रमणका बारेमा आज प्रतिनिधिसभामा ब्रिफिङ गर्ने भएका छन् । उनले सभामा विशेष समय लिएर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
संसद् अधिवेशन जारी रहेका बेला राज्यको प्रतिनिधित्व गरेर हुने भ्रमणको जानकारी सदनलाई दिने प्रचलन छ । प्रधानमन्त्रीसँग यसअघि एमालेकै सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीको नेपाल भ्रमणका विषयमा पनि जवाफ माग गरेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनलाई प्रतिनिधिसभा सचिवालयले कार्यसूचीमा प्रकाशन गरिसकेको छ । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले मङ्गलबार प्रधानमन्त्रीले सम्बोधन गर्न कार्यक्रम तय भएको जानकारी दिए ।











