तुलसीपुर, १५ चैत । तुलसीपुरमा फ्रि वाईफाई सेवा शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ ले बुधबार देखि वाईफाई सेवा शुरु गरेको हो । तुलसीपुरको वीपी चोकमा फ्रि वाईफाई सेवा सुरु गरिएको हो । प्रबिधिमैत्री वडा बनाउने उदेश्य अनुरुप पहिलो चरणमा बिपी चोकमा फ्रि वाईफाई सेवा शुरु गरिएको वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले जानकारी दिए ।

पहिलो चरणको परिक्षण सफल भएपछि दोस्रो चरणमा बसपार्क क्षेत्रमा फ्रि वाईफाई सेवा शुरु गर्ने वडा सदस्य शुरेस श्रेष्ठले बताए । १० केभिए क्षमताको उक्त वाईफाई एकै पटक ६० जनाले चलाउन सक्ने सदस्य श्रेष्ठले बताए । सेवाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक अध्यक्ष माया आचार्यले गरेकी हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नंबर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अबशरमा प्रमुख अतिथि आचार्यले तुलसीपुरलाई स्मार्ट सीटि बनाउने अबधारण अनुसार फ्रि वाईफाई जडान गरिएको बताईन् । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष बिमल रिजाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए ।