काठमाडौँ, १४ चैत , अब प्रत्येक महिनाको दुई दिन सङ्घीय संसद्मा सांसदहरूले समसामयिक तथा नीतिगत विषयमा प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउने भएका छन् ।
महिनाको पहिलो र तेस्रो हप्ताको पहिलो बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनामा दुई बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने गरी नियमावलीमा सहमति गरेको हो ।
सरकारका कामकारबाहीलाई पारदर्शी र जनचासोका विषयमा सरकारलाई सदनप्रति उत्तरदायी बनाउन प्रश्नोत्तर कार्यविधि चयन गरिएको हो । बेलायत लगायतका देशमा प्रधानमन्त्री र सांसदबीच सवालजवाफको व्यवस्था छ ।
यसअघि पनि कार्यविधिबाट उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने प्रयास गरिए पनि सफल भएको थिएन । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावलीको प्रश्नोत्तर कार्यविधिमा सहमति भएको बताए ।
“हामीले विल्कुलै नयाँ व्यवस्थामा सहमति गरेका छौँ । प्रधानमन्त्रीसँगको सीधा प्रश्नोत्तर र अन्य मन्त्रीसँगको सवालजवाफको विषयमा सहमति भएको छ । अब प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो र तेस्रो साताको पहिलो बैठकमा एक घन्टा सांसदले सवालजवाफ गर्न पाउनेछन् ”, उनले भने ।











