काठमाडौँ, ३ चैत । एकीकृत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधिलाई सही दिशा दिनुपर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मान्त्रालय र सार्क चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजले काठमाडौँमा आयोजना गरेको ‘ सार्क बिजिनेस लिड्र्स अनक्लेभ’ समृद्धिका लागि राजनीतिक र आर्थिक संम्मेलन सम्बन्धी बहसमा उनले भने “भारत र पाकिस्तानले मिलेर समस्याको समाधान निकाल्नुपर्छ ।”
दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुकको हैसियतमा भारतले ज्यादा पहल कदमी लिनुपर्ने बताउँदै प्रचण्डले सार्क क्षेत्रलाई सक्रिय तुल्याएर समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा विशेष जोड दिए ।
सार्कको अध्यक्षको हैसियतमा भारत र पाकिस्तानबीच देखिएका असहमतिलाई न्यूनीकरण गर्न नेपालले सक्दो पहल गरेको उल्लेख गर्दै दाहालले पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीको नेपाल भ्रमणका अवसरमा आफूले सार्कलाई सही दिशा दिने विषयमा सकारात्मक विचार विमर्श भएको जानकारी दिए ।
निकट भविष्यमा सार्क मुलुकमा देखिएका असहमति सुल्झेर शिखर सम्मेलन हुने विश्वास व्यक्त गर्दै प्रचण्डले राजनीतिक इच्छा शक्ति तथा अगुवाइ सही भएको अवस्थामा समग्र सार्क क्षेत्र आर्थिक समृद्धिको बाटोमा अघि लम्कने बताए ।
नेपालमा कुनै परिवर्तन हुन खोज्यो भने उत्तर अथवा दक्षिण तर्फ इंकित गरी सोच्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउँदै, “हामी प्रो इण्डियन होइन, प्रो चाइनिज पनि होइन, हामी प्रो नेपाली हौं ।”











