घोराही, २ चैत्र । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले आफुहरुले सञ्चालन र प्रयोग गर्दै आएको अधिकार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । विहिबार घोराहीको होटल डोकोमा एक कार्यक्रमको आयोजना गरि जनस्वास्थ्य प्रमुख घनस्याम पोख्रेलले नगर प्रमुख नरुलाल चौधरीलाई नगर क्षेत्रको स्वास्थ्यका गतिबिधी सञ्चालन तथा नियमन गर्नका लागि अधिकारहरु हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रबाह हुदै आएका सेवा तथा नियम गर्ने अधिकारहरु सहित जिम्मेवारीको फाईल नगर प्रमुख चौधरीलाई हस्तान्तरण भएको हो । यसैबिच नगरको स्वास्थ्य सेवालाई गुणस्तरी र सुनिश्चिता बनाउन नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा समिति समेत गठन भएको छ ।
स्वास्थ्य गुणस्तर शुनिश्चितता समितिको आमन्त्रित सदस्यमा उपप्रमुख सीता न्यौपाने, सदस्यहरुमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, शाखा अधिकृत बाबुराम पन्थी, वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, पवित्रा विश्वकर्मा, कृष्णादेवी राना, विमला पौडेल, दधिराम खनाल, श्रीमन न्यौपाने र सदस्य सचिबमा स्वास्थ्य महाशाखाका कुमार डाँगी रहेको समिति गठन भएको हो ।
समितिले उपमहानगर क्षेत्र भित्रका सरकारी तथा निजि अस्पतालहरुको अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । नगर क्षेत्रका सबै सरकारी र निजि उपचार केन्द्रहरुले प्रदान गर्ने सेवालाई गुणस्तरीय, भरपर्दो, सुरक्षित बनाउने र कानुनी प्रकृयामा नरहेका अस्पतालहरुलाई नियमन गर्ने गरि समितिलाई सरकारले अख्तियारी दिएको जनस्वास्थ्य प्रमुख घनस्याम पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले स्वास्थ्य संस्थाहरुबाट भरपर्दो र गुणस्तरीय सेवा प्रमुख बिषय भएको बताउनुभयो । नागरिकहरुलाई स्वास्थ्य प्रति सचेत बनाउने र स्वास्थ्य संस्थाहरुलाई नागरिकहरु प्रति जवाफदेही बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । व्यक्ति स्वस्थ र जिम्मेवार निकायले तोकिएको जिम्मेवारी पुरा गरे हरेक क्षेत्रको बिकास हुने उहाँको धारणा रहेको छ ।
साथै उपमहानगरले नगर क्षेत्रको स्वास्थ्य प्रर्बद्धनका लागि आबस्यक श्रोत साधन, जनशक्ति र तालिमहरुको व्यवस्थापनमा अभिभावकको भुमिका खेल्ने समेत प्रमुख चौधरीले प्रतिबद्धता जनाउनुभयो । पहिले व्यक्तिगत स्वास्थ्य र सरसफाईको बिषयमा आम नागरीकहरु सचेत बन्नु पर्ने उहाँको भनाई छ ।











