इन्द्रेणी संवाददाता
बुटवल, ३० फागुन । सरकार गठन भएको करीव एक महिनापछि प्रदेश ५ मा सरकार विस्तारको तयारी थालिएको छ । फागुन ३ मा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनसदस्यीय मन्त्रिमण्डल गठन भएको थियो भने भरखरै मात्र उनले विश्वासको मत लिएका थिए ।
विस्तार हुने सरकारमा लुम्बिनी क्षेत्रका सांसदलाई मन्त्री बनाउनुपर्ने दबाबसमेत परेको छ । अहिले लुम्बिनी क्षेत्रबाट एकजना मात्र मन्त्री छन् ।
त्यसैगरी मुख्यमन्त्री पोख्रेललाई विश्वासको मत दिएको फोरमले पनि दुई मन्त्रालय पाउनुपर्ने माग गरेको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेले केन्द्र र प्रदेशमा पार्टी सरकारमा जाने सम्भावना रहेकाले पोखरेललाई विश्वासको मत दिएको बताए ।











