भुपेन्द्र वली
दाङ , २५ फाल्गुन । १०८ औं श्रमिक महिला दिवसका अवसरमा जिल्ला सदरमुकाम घोराही लगायतका शहरमा विभिन्न कार्यक्रम भइरहँदा गाउँमा भने सुनसान जस्तै रहयो । दिउसोँ १२ बजेको रापीलो घाममा पनि घोराही नजिकै रहेको सेवार खोलामा पुग्दा गिटि कुट्ने देखि लिएर आफनो दैनिकी टार्न पसिना बगाईरहेका प्रशस्त महिला भेटिन्थे । समुह गठन गरेर अल्लो उद्योग चलाईरहेका घोराही — १४ का महिलाहरु अल्लोको धागो निकाल्न पुवा पेल्न परिश्रम गरिरहेका थिए ।
उनीहरु यो दिवसको अवसरमा हुने कार्यक्रम बारे त अनभिज्ञ थिए नै संगसंगै श्रमिक महिलाका मुद्याबारे जानकार थिएनन् । ‘ खोई यि दिवस बारे म हामीलाई केही थाहा छैन् । दिनभरी परिश्रम नगर्ने हो भने साँझको छाक टार्न मुस्किल पर्छ । ’ घोराही १० की तिल कुमारी पुनले भनिन ‘ हाम्रा दुःख सँधै यस्तै हुन । घोराही बजारमा के के हुन्छ थाहा हुँदैन । ’ उनीहरले बिहान ७ बजेदेखि नै आफनो कामको दैनिकी शुरु हुन गरेको बताए ।
यद्यपी , दिनभरी परिश्रम गर्दा पनि उनीहरुले गर्ने कमाई भने न्युन रहेको छ । ‘ सरदर दुई ढाई सय जति कमाउँछौं । ’ पुनले भनिन ‘ पेट भर्ने जति पुगेको छ । बिरामी पर्दा दिनभरी गरेको दुःखको कमाईले नपुग्ने हुन्छ । ’ मगर समुदायका १६ जना महिला मिलि अल्लो उद्योग खोलेको उनीहरुले बताए । रुकुम , रोल्पाबाट पुवा (अल्लो धागोको कच्चा सामाग्री) ल्याएर पेलेपछि त्यसबाट विभिन्न किसमका जुता , जकेट ,झोला , पर्स लगायतका सामाग्री निर्माण गरिने पुनले बताईन । ‘ मेहनत गरेका छौं । तर मेहनत गरे अनुसारको सफलता पाएका छैंनौ । अर्की उद्यमी गंगा पुनले भनिन ‘ हामीले हाथले निर्माण गर्ने भएकाले सामान गुणस्तरिय तर महङो पर्न जान्छ । विदेशबाट आउने सामानका अगाडी हाम्रो सामान बिक्रि हुन गाह्रो छ । राज्यले पनि बजार प्रवद्र्धनमा कुनै सहयोग पुर्याएको छैन । ’
नारी दिवसका उपलक्ष्यमा वर्षेनी बजार क्षेत्रमा कार्यक्रम हुँदै आएपनि ग्रामिण भेकका महिलाको दैनिकिमा भने यि कार्यक्रमले खास्सै प्रभाव पार्न सकेको छैन । केही महिला घरको चुल्हो नाघेर सामान्य उद्यम गर्न सक्षम भएतापनि अझै पनि सामाजिक विभेद शहर भन्दा ग्रामिण भेकमा कायमै रहेको महिलाहरु बताउछन् । ‘ बाहिर सामान्य काम गर्न सक्ने वातावरण बनेको मात्र हो ।
तर चुल्हो चौकोको काम त अझै पनि महिलाकै काँधमा छ । ’ उद्यमी शान्ति सुनारले भनिन ‘ दिनभरी बाहिरको काम गर्न पाएपनि बिहान र बेलुका खाना पकाउने देखि लिएर घर परिवार स्याहार्नै जिम्मा महिलाकै छ । काम गर्दा पाउने ज्याला पनि पुरुषको भन्दा निक्कै कम छ । यही कारणले गाउँका अधिकाँश महिला अझै आत्मनिर्भर हुन पाएका छैनन् ।’
महिला मानवअधिकार रक्षकहरुको सञ्जालकी केन्द्रिय सचिव लक्ष्मी आचार्य लक्षित महिला सम्म अझै पनि महिला अधिकारका पक्षमा बहस हुन नसकेको स्विकार्छिन । शहर तथा गाउँ जुनसुकै स्थानमा हुने कार्यक्रममा केही अगुवा , राजनैतीक दल , उही औपचारिक संयन्त्र भित्र महिला अधिकारको पक्षमा बहस हुने परम्परागत शैलि कायमै रहेको उनको भनाई छ । ‘ हाम्रा कार्यक्रम लक्षित महिला सम्म पुग्न सकेका छैनन् ।
गाउँ तथा शहरका केन्द्रहरुमा औपचारिक रुपमा ८ मार्च मनाउने परम्परागत कार्यशैली कायमै छ । लक्षित वर्ग भनेर पनि महिलाहरु बिच बढी चर्चा चल्छ । तर यसको महत्वपुर्ण पाटो पुरुषहरुलाई भने यो दिवसमा खास्सै समेट्न सकिएको छैन ’ उनले भनिन ‘जसले कागजी रुपमा प्राप्त अधिकार व्यवहारतः कार्यान्वयन हुन सकेका छैनन् । ’
कानुनी रुपमा अधिकार प्राप्त भएतापनि त्यसको व्यवहारिक कार्यान्वयनको पाटो भने निक्कै फितलो रहेको महिला अधिकारकर्मीहरुको भनाई छ । ‘ घरेलु हिँसा , असमान ज्याला , असमान सहभागिता , घरेलु श्रमको अवमुल्यन , लगायतका समस्याहरु कायमै छन । सचिव आचार्यले भनिन ‘ अब कानुनको कार्यान्वयनका लागि सामाजिक जागरणको सशक्त अभियान चलाउनुपर्ने आवश्यक्ता देखिन्छ । ’











