काठमाडौं, २३ फागुन । नेपाली साहित्यका धरोहर इन्द्रबहादुर राईको मंगलबार बेलुका दार्जीलिङमा निधन भएको छ । दार्जीलिङको स्थानीय सञ्चारमाध्यम खबरम्यागेजिन डटकमले जनाए अनुसार नेपाली साहित्यका अभिभावक राईको निधन हृदयघातका कारण भएको हो । परिवारका सदस्यले जनाए अनुसार साँझ ६ बजेतिर राईलाई एक्कासि गाह्रो भएको थियो । हृदयघात भएको केही क्षणमै राईले प्राणत्याग गरेको खबरम्यागेजिनले जनाएको छ ।

indre bahadur rai

तेस्रो आयाम र लीला लेखनका प्रणेता इन्द्रबहादुर राईको जन्म सन् १९२७ को फ्रेब्रुअरी ३ का दिन खरसाङको बालासन खोला नजिकै भएको थियो । राईलाई उनको जन्मबारे कसैले प्रश्न गर्दा उनले ‘मेरा बाबुआमा उक्त खोलाको पुल निर्माणको काममा खटिरहेका बेला म त्यहीँ बगरमा जन्मिएको अरे’ जवाफ फर्काउने गरेको खबरम्यागेजिनमा उल्लेख छ ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका राईले सुरुमा प्राध्यापनमा लागे । राईले इलामको करफोकमा केही समय पढाएको बताउँछन् साहित्यकार गणेश रसिक । सन् १९६१ मा राईको पहिलो कृतिका रुपमा ‘विपना कतिपय’ प्रकाशित भएको थियो । चर्चित पुस्तक ‘आज रमिता छ’ सन् १९६४ मा प्रकाशित भएको थियो । इश्वर बल्लभ, बैरागी काइँला र इन्द्रबहादुर राईले भित्राएको तेस्रो आयाम नेपाली साहित्यमा महत्वपूर्ण साहित्यिक आन्दोलनका रुपमा रहेको छ । राईका अन्य कृतिहरूमा कठपुतलीको मन (निबन्धसंग्रह, सन् 1989),कथास्था (कथासंग्रह, सन् १९७२),सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि. स‌ं. २०६३),टिपेका टिप्पणीहरू (समालोचना संग्रह, सन् १९६६),नेपाली उपन्यासका आधारहरू (समालोचना संग्रह, सन् १९७४),सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६), साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३), दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४), पहाड र खोला (निबन्धसंग्रह, सन् १९९३), अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४), पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५), लेखहरू र झ्याल (निबन्धसंग्रह, सन् २०००), लीला प्रस्तावना (समालोचना, वि. स‌ं. २०५९) रहेका छन् ।

इन्द्रबहादुर राईकाे अाज रमिता छ काे अंग्रेजीमा मञ्जुश्री थापाले अनुवाद गरेकाे दियर इज अ कार्निभल टडे केही महिनाअघि मात्रै सार्वजनिक भएकाे थियाे । त्यस्तै इन्द्रबहादुर राईका कथाहरूलाई प्रविण अधिकारीले अनुवाद गरेका छन् । लङ नाइट अफ् स्टाेर्म नाम दिइएकाे याे पुस्तक केही दिनअघि मात्रै रिलिज भएकाे थियाे । दुवै पुस्तकलाई भारतीय प्रकाशन गृह स्पिकिङ टाइगर्सले प्रकाशन गरेकाे हाे ।

इन्द्रबहादुर राईले समालोचना कृति ‘नेपाली उपन्यासका आधारहरु’ का लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ पाएका थिए । अकादमी पुरस्कार पाउने उनी पहिलो भारतीय नेपाली हुन् । उज्यालोमा खबर छ । राईको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ । राईकाे बिहीबार दार्जीलिङमा अन्त्येष्टि गरिने जनाइएकाे छ ।