काठमाडौं, २० फागुन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुनै समयको हिरो भए पनि अहिले खलनायक भएको बताउनुभएको छ ।
नेकपा क्रान्तिकारी माओवादी र नेकपा माओवादीले संयुक्त रुपमा भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता वैद्यले पछिल्लो समय प्रचण्डले नेपाली राजनीतिमा खलनायकको भूमिका खेलेको बताउनुभएको हो ।
कांग्रेस र एमालेजस्ता पार्टीसँग गठबन्धन गरेर प्रचण्ड र बाबुराम भट्टराईले महान क्रान्तिको खिल्ली उडाएको बताउँदै वैद्यले नेपाली जनताको मुक्तिका लागि भएको १० वर्षे जनयुद्धमाथि ठूलो घात गरेको आरोपसमेत लगाउनुभयो ।
महान क्रान्तिका लागि सबै कम्युनिष्ट शक्तिलाई गोलबद्ध गर्ने बताउँदै उहाँले सहिदको सपना पूरा गर्न नयाँ जनयुद्धसमेत हुन सक्ने चेतावनी दिनुभयो । शहीद, बेपत्ता परिवार र घाइते योद्धा अभिनन्दनसमेत गरिएको त्यस कार्यक्रममा बोल्दै उहाँले अब नयाँ जनयुद्धले शहीदको सपना पूरा गर्ने बताउनुभयो । एभरेष्ट दैनिक बाट