इन्द्रेणी संवाददाता
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसले संसदीय दलको नेता चुन्नलाई चुनाव गर्दैछ । जसका लागि आज साँझ उम्मेदवारी दर्ता हुँदैछ भने भोली सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन हुने कार्यतालिका छ ।
दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी छन् । दुबैले दलको नेता आफू बन्नुपर्ने अडान राखेकै कारण चुनाव हुन लागेको कांग्रेसका एक नेताले बताए ।
तर पछिल्लो चरणमा सभापति देउवालाई दलको नेता र सिंहलाई उपनेता बनाउनका लागि प्रयास जारी रहेको ती नेताले बताए । तर देउवा र सिह आफ्नै अडानमा छन् । दलको नेताका लागि प्रतिनिधिसभामा निर्वाचित प्रत्यक्ष २३ र समानुपातिक ४० गरी ६३ सांसदले मतदान गर्न पाउने छन् ।
