दाङ, १० असार । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिले नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुले अध्ययन गरेको एमबीबीएस, एमडी र एमएस तहको प्रमाणपत्र पनि अनुसन्धान सुरु गरेको छ ।
प्लस टु वा प्रवीणता प्रमाणपत्र तहमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेले एमबीबीएस, एमडी/ एमएसको शैक्षिक प्रमाणपत्र लिँदा पनि गडबढी गरेको हुनसक्ने अनुमानका साथ प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डीआईजी नवराज सिलवालले प्लस टु वा प्रवीणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली बनाउने ९० प्रतिशतले एमबीबीएस, एमडी÷एमएसको पनि नक्कली प्रमाणपत्र बनाएको आशंकामा छानबिन अघि बढाएको बताउनुभयो ।
उहाँका अनुसार नेपालभन्दा पनि चीन, बंगलादेश लगायतका मुलुकका मेडिकल कलेजमा अध्ययन गरेकालाई लक्षित गर्दै छानबिन अघि बढाइएको हो । नेपालका मेडिकल कलेजमा अध्ययन गरेकामाथि त्यति शंका नभएको उहाँले बताउनुभयो ।
विदेशबाट एमबीबीएस, एमडी/ एमएस अध्ययन गरेर आएकाहरू नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्सिङ अभ्यास अनुमतिपत्र परीक्षामा सबैभन्दा धेरै फेल हुने गरेका छन् । सरकारले विदेशमा एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीले अब नेपालका विश्वविद्यालय वा शिक्षा मन्त्रालयले लिएको प्रवेश परीक्षा अनिवार्य गर्नुपर्ने नियमसमेत ल्याएको छ ।।