रोल्पा | जनयुद्धकालमा शहीद भएका तत्कालीन माओवादी केन्द्रीय सदस्य तथा जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर नेवबहादुर केसी ‘परिवर्तन’को स्मृतिमा परिवर्तन गाउँपालिका ३ बागमारामा पार्क निर्माण गरिएको छ ।

साविकको दुइखोली गाउँपालिकाको नाम बदलेर केही समयअघि केसीकै सम्मानमा गाउँपालिकाको नाम परिवर्तन गाउँपालिका बनाइएको थियो । परिवर्तनको जन्मथलो यही ठाउँमा पर्दछ ।

paribartan

जनयुद्धकालमा २०५९ सालमा शहीद भएका परिवर्तनको सम्मान र सम्झनामा २८ लाख ८० हजारको लगानीमा परिवर्तन पार्क बनाइएको निर्माण समितिका उपाध्यक्ष दिनेश बुढाले जानकारी दिनुभयो ।

लामो समयदेखि शुरु भए पनि बर्षमान पुन ‘अनन्त’ शान्तिमन्त्री भएको बेला बजेट हाल्न शुरु गरिएको र अहिले सम्पन्न गरिएको परिवर्तनका छोरा भुवन केसीले जानकारी दिनुभयो । पार्कमा प्रतिक्षालय, शालिक, फाउण्डेशन, तारजाली, शौचालय र बाथरुम रहेका छन् ।

पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ले पार्क अनावरण गर्नुभएको छ । सो क्रममा उहाँले गाउँपालिकाको नाम परिवर्तन र पार्क निर्माणले शहीदको सम्मान गर्न महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै अब जनताको जीवनस्तर बदलेर शहीदका सपना पूरा गरिने बताउनुभयो ।

‘जुन सपनासहित हामीले जनयुद्ध गर्यौं, जुन सपनाका लागि परिवर्तनहरु शहीद हुनुभयो, आज त्यो सपना पूरा गर्ने अवसर आएको छ’– उहाँले भन्नुभयो– ‘जनताको जीवन बदलेर मात्र अगाडि बढ्न सकिने छ ।’

paribartan-2-768x535अनावरण कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रतिनिधि सभा सदस्य जयपुरी घर्ती, प्रदेशसभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढालगायतले बोल्नुभएको थियो ।

को हुन् परिवर्तन ?

२०२८ सालमा साविक इरिवाङमा जन्मेका केसीले २०४६ सालदेखि विद्यार्थी राजनीति शुरु गर्नुभएको थियो । जनयुद्ध शुरु भएपछि पार्टीको स्वयंसेवक दल, लडाकू दलहुँदै २०५५ सालमा स्वायड कमाण्डर बन्नुभएको थियो ।

२०५६ सालमा प्लाटून कमाण्डर बनेका केसी २०५७ सालमा कम्पनी कमाण्डर, २०५८ मा बटालियन कमाण्डर हुँदै २०५९ सालमा ब्रिगेड कमाण्डर र पार्टी केन्द्रीय सदस्य बन्नुभएको थियो ।

त्यतिबेला ब्रिगेड नै जनसेनाको माथिल्लो संरचना थियो । उहाँको २०५९ बैशाख ३१ गते कपिलवस्तुमा शहादत भएको थियो ।