काठमाडौं, ८ फागुन । प्रहरीले कानुनविपरीत वित्तीय कारोबारमा संलग्न ६ कम्पनीका आठ सञ्चालकलाई पक्राउ गरेको छ । उनीहरूबाट प्रहरीले अवैध रूपमा संकलन गरिएको ११ करोडभन्दा धेरै रकम बरामद गरेको छ ।

tarawar-sahit-pakrauसिआइबीका डिएसपी श्यामबाबु ओलियाले राष्ट्र बैंक तथा सहकारी विभागको अनुमतिविना १२ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरी २४ भन्दा धेरै प्रतिशतमा लगानी गर्नेहरूलाई पक्राउ गरिएको बताए ।

उनले भने, ‘सुनसरी तथा मोरङमा केही संस्थाले विनाअनुमति निक्षेप संकलन तथा ऋण प्रवाह गरेको सूचना आयो । बुझ्दा उनीहरूले १२ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गर्दारहेछन् । त्यसलाई २४ प्रतिशतभन्दा बढीमा ऋण दिँदा रहेछन् । यो धन्दा गैरकानुनी रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।’

उनीहरूबाट प्रहरीले ११ करोड १७ लाख ८९ हजार ६ सय ७१ रुपैयाँ बरामद गरेको छ । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० र प्रदेश क्षेत्रीय अनुसन्धान टोलीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोबार गर्ने अनुमति नलिई सुनसरी र मोरङका स्थानीयसँग बचत संकलन तथा ऋण प्रवाह गर्दै आएका थिए । उनीहरूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

सिआइबीका अनुसार उनीहरूले पाँच सयभन्दा बढी सर्वसाधारणसँग निक्षेप संकलन गरेका छन् । बैंक तथा सहकारीले भन्दा महँगो ब्याज दिने प्रलोभन दिएपछि लोभिएका सर्वसाधारणले उनीहरूको संस्थामा रकम जम्मा गर्ने गरेको प्रहरीको भनाइ छ । डिएसपी ओलियाले भने, ‘यिनीहरूले बैंक तथा सहकारीले भन्दा महँगो ब्याज दिने भनेपछि सर्वसाधारण लोभिए अनि यिनीहरूको संस्थामा रकम जम्मा गरे । यसरी यिनीहरूले पाँच सयभन्दा धेरैसँग निक्षेप संकलन गरेको खुलेको छ,’ डिएसपी ओलियाले भने, ‘यो संख्या अझ बढ्न सक्छ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ । थप तथ्य अनुसन्धानपछि खुल्ला ।’

प्रहरीका अनुसार अभियुक्तहरूले कम्पनी ऐनअनुसार संस्था दर्ता गरे पनि उद्देश्यविपरीत गतिविधि गरेका थिए । उनीहरूले कम्पनीको स्थायी कार्यालय राखेका छैनन् । उनीहरूले सबै कारोबार झोलाबाटै गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका अभियुक्तलाई सुनसरी तथा मोरङ प्रहरीको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध बैंक तथा वित्तीय ऐनअनुसार कारबाही अघि बढ्ने प्रहरीको भनाइ छ ।

को–को पक्राउ परे ?
पक्राउ पर्नेमा आपन इन्भेस्टमेन्ट प्रालि इटहरीका ४० वर्षीय भीमप्रसाद चौधरी र ५० वर्षीय श्याम पेसकार थारू, हलेसी इन्भेस्टमेन्ट प्रालि धरानका ३१ वर्षीय चन्द्रबहादुर विक र २८ वर्षीय अनीता विक, चौतारी इन्भेस्टमेन्ट प्रालि विराटनगरका २७ वर्षीय राजु शाह, इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड इटहरीका ३४ वर्षीय सुनील गुरागाईं र इन्भेस्टमेन्ट प्रालि सुनसरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य छन् । त्यसमध्ये पूर्ण गिरी इन्भेस्टमेन्ट प्रालि इटहरीका सञ्चालक पूर्ण गिरी भने फरार छन् । नयाँ पत्रिकाबाट