काठमाडौं, ७ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच लामो समययता चलेको पार्टी एकीकरण प्रक्रिया टुङ्गोमा पुगेको छ ।

Prachanda-kp-oliप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकीकरण सम्बन्धी सहमति भएको छ । भक्तपुरमा सोमबार दिउँसो भएको भेटवार्तामा दुई नेताबीच सहमति(पत्रमा हस्ताक्षर भएको स्रोतले जनाएको छ ।

दुई अध्यक्षले गरेको सहमति अनुमोदन गराउन सोमबार बेलुका पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । बैठकबाट अनुमोदन भएपछि सहमतिपत्र सोमबार नै सार्वजनिक गरिने बताइएको छ ।

सहमतिसँगै माओवादी केन्द्रले सरकारमा जाने तयारी सुरु गरेको छ । मंगलबार बिहान मन्त्रालय बाँडफाँडपछि मन्त्री हुनेको नामावली प्रधानमन्त्रीलाई बुझाइने माओवादी श्रोतले जनाएको छ ।

सहमति अनुसार एकीकृत पार्टी दुई अध्यक्ष रहने प्रणाली अनुसार संचालन हुनेछ । ओली र प्रचण्ड संयुक्त रुपमा अध्यक्ष रहनेछन् भने बैठकको अध्यक्षता आलोपालो हुनेछ । सरकारको नेतृत्व आलोपालो प्रणाली अनुसार आधा आधा कार्यकाल हुनेछ ।

प्रधानमन्त्री र राष्ट्रपति एमालेले लिने र उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले लिने सहमतिमा हस्ताक्षर भएको छ ।

यस्तो छ सहमति

– दुई अध्यक्षात्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतका अध्यक्ष ।

-अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निमार्णताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुवै आधा–आधा प्रधानमन्त्री ।

-दुवै पार्टीका पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने ।

-दुवै पार्टीले मानिरहेका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने । सकेसम्म छिटो बिशेष महाधिवेशन गरेर औपचारिक रुपमा विषयको टुंगो लगाउने । त्यसअघि एकताका सैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।

-दुई अध्यक्षसँगै बहुपद सृजना नगर्ने । सानो आकारका स्थायी कमिटी तथा पोलिटव्यूरो र केन्द्रीय समिति बनाउने ।

-राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई ।

-माओवाद, एक्काइसौं शताव्दीको जनवाद र बहुदलीय जनवादलाई महाधिवेशनसम्म बहस गरेर संष्लेषण र परिमार्जन गर्ने ।