रौतहट, ७ फागनु । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।
पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताए ।
रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग सोमबार कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताए ।
नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए पनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे। नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो । रासस