काठमाण्डौ, १० असार
सुदूरपश्चिमका महिलाहरु महिनाको एक हप्ता गोठमा सुत्ने गरेका छन् । किशोरी तथा महिलाहरु महिनावारी भएको समयमा गोठमै सुत्ने पर्ने प्रथा अझै नहटेका कारण उनीहरु गोठमा सुत्न बाध्य भएका हुन् ।
महिलाहरु गाईगोरु तथा बाख्रा बाँध्ने गोठसँगै एउटा कोठमा बस्ने गरेका छन् । महिनावारी भएको सुरुको दिनदेखि सात दिनसम्म महिला तथा किशोरीले छाउ बार्ने गरेका कारणले गोठमा सुत्नु परेको जयपृथ्वी नगरपालिका धामीलेखकी सिता सिंहले बताउनुभयो ।
घरमा बसे देवता रिसाउने भन्ने डरका कारणले महिनावारी भएका बेला र सुत्केरी भएका बेलामा छाउगोठमा बस्ने गरेको उहाँको भनाई छ । जयपृथ्वी नगरपालिकामा मात्र नभई यो परम्परा बझाङ जिल्लकाा सबै गाविसहरुमा रहेको नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहले बताउनुभयो ।
उहाँका अनुसार छाउगोठ मुक्त गरेका गाविसहरुमा समेत महिलाहरु सात दिनसम्म छाऊ गोठमा नै बस्दछन् । यो प्रथाको अन्त्य गर्न निकै नै समस्या रहेको छ । त्यस्तै बझाङ जिल्लामा मात्र नभई सुदूरपश्चिम भरका पहाडी जिल्लाहरु डोटी, अछाम, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराका ग्रामिण भेगका महिलाहरु महिनावारी भएका बेला मात्रै नभई सुत्केरी भएका बेला पनि गोठमै सुत्ने गरेको पाइएको छ ।।
स्रोत – उज्यालो अनलाइन