आभास बुढाथोकी

पाचँ वर्षअघि कम्प्यूटर टेक्निसिएनबाट आईटी फिल्डमा आएका राहुलको दैनिकी केहिदिन अघि निकै ब्यस्त थिय  । सूचना प्रविधिको विकास र यसको प्रयोग बढ्न थालेपछि उनको पनि माग उत्तिकै बढेको थियो । सरकारी कार्यालयल होस् या निजी संघसंस्था चारैतिर पुग्थे उनी । ‘२१ वर्षमै  कसरी यति व्यस्त ?’ हाम्रो प्रश्नको प्रतिउत्तरमा उनले भनेका थिए– ‘कुरा उमेरको होइन । मेरो सीप र अहिले आईटी क्षेत्रको मागको हो ।’

20180217_085805

घोराही उपमहानगरपालिका–१५ का राहुल गुप्ता सानो उमेरमै पनि आईटी फिल्डमा धेरै भिजेको र पोख्त भएको नाम हो । घोराही बजारस्थित बराह कम्प्यूटरमामार्फत उनले कम्प्यूटर टेक्निसिएनका रुपमा आईटी फिल्डमा काम गर्दै आएका थिए । कलिलै उमेरमा उनमा कम्प्यूटरसम्बन्धी र आईटी क्षेत्रका बारे धेरै ज्ञान र जानकारी हासिल गरेका थिए । ‘मलाई सानैदेखि आईटी फिल्डमा काम गर्ने चाहना थियो’– उनले भनेका थिए ।

बराहा कम्प्यूटर सप्लायर्समार्फत उनी कम्प्यूटर, प्रिन्टरदेखि सिसी टिभी जडान र अन्य विभिन्न आईटीसँग सम्बन्धित सामग्रीहरु मर्मत गर्थे । व्यक्तिगत, विभिन्न सरकारीदेखि निजी संघसंस्थाहरुमा उनी कम्प्यूटरदेखि आईटीसँग सम्बन्धित विभिन्न प्रविधिहरुको इन्स्टलेसनदेखि मर्मतका काम गर्न पुग्थे । ‘विशेष गरी कम्प्यूटर, प्रिन्टिरहरु र सिसी क्यामराहरु हेर्ने गर्छु’– उनले भनेका थिए– ‘पछिल्लो समय भने आईटीसँग सम्बन्धित डोरलक जस्ता अरु नयाँ प्रविधिहरु पनि हेर्ने गरेको छु ।’

अहिलेको युग नै टेक्नोलोजीको भएको हुँदा यस क्षेत्रमा धेरै अवसर भएको उनको बुझाइ थियो । अरु पेशालाई भन्दा यसमा धेरै सम्मानितरुपले हेर्ने गरेको उनले बताएका थिए । तर बाहिर हेर्दा सजिलो देखिए पनि यसमा काम गर्न भने त्यति सिजलो नभएको उनको आफ्नो अनुभव थियो । ‘आईट क्षेत्रमा काम गर्दा आउने समस्या झञ्झटिला पनि हुन्छन्’ उनको भनाइ थियो– ‘मन नभएको मानिसहरु त यसमा टिक्नै सक्दैनन् ।’ यस्ता काममा धेरै टाउको दुख्ने भए पनि उनलाई भने यसैमा रमाइलो लाग्थ्यो । उनको भनाइ थियो– ‘समस्यासँग जति जुध्यो बढी यसबारे जानकारी पाइन्छ । जीवन भन्नु पनि त सिकाइ नै त हो ।’

मञ्जीत गुप्ता (राहुल) को विषयमा लेखिएको विषयवस्तु उनको मृत्यु हुनुभन्दा पहिले तयार पारिएको हुँदा यसलाई प्रकाशन गरिएको छ । फागुन ३ गते बिहीवार काठमाडौबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख २३३१ नम्बरको बससँग ठोक्किदा मृृृृत्यु भएको थियो । नयाँ युगबोधबाट