काठमाडौं, ४ फागुन। नेपालीमा एउटा उखान छ–‘कुकरको पुच्छर बाह्र वर्ष ढुङ्गामा राखेपनि जस्ताको त्यस्तै’ । अहिले नेपालको राजनीतिमा नेकपा एमालेको व्यवहारले यो उखानलाई पुनः स्मरण गराएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया शुरु भएको ६ महिना पुग्न लाग्दा एमालेले आफ्नो शक्ति सञ्चय गर्नका लागि मात्रै एकताको कार्ड उपयोग त गरेको थिएन ? भन्ने प्रश्न समेत यतिखेर उब्जिएको छ ।
एकतामा एमाले बुझाई
निर्वाचनअघि निकै हतारमा गरिएको एकताको निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्ने क्रममा निर्वाचनको परिणामपछि एमालेबाट खासै उत्साह देखाइएनन् । निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि एमालेभित्र पुरानै दम्भ पलायो । एमालेका नेताहरुले माओवादी केन्द्रको सहअस्तित्व स्वीकार गर्न चाहेनन् । निर्वाचन अघि समान हैसियत, समान स्तर, विचारधाराको नयाँ किसिमले संश्लेषणको कुरा गरिएपनि यि कुरा निर्वाचन पछि एमाले नेताहरुले बिर्सिए । उनीहरुका लागि अब एकता आवश्यक रहेन ।
जनताले एकतालाई अनुमोदन गरेको कारण एमालेलाई त्यसबाट सोझै पछाडि हटन सम्भव भने थिएन । त्यसैले एमालेले एकतामा बिभिन्न किसिमले अडचन र खोंचे थाप्ने काम भने अगाडि सार्यो । खासगरि केपी ओली बैंककबाट फर्किएपछि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमालेभित्रको यो एकताविरोधी मनोविज्ञानले झन बलियो रुप पाएको देखियो ।
यसपछि एमालेका नेताहरु, उनीहरुको औपचारिक बैठक र सबै तहमा एकता गर्नैपर्ने अवस्थामा माओवादीले आफूले जे भन्यो त्यसमा सही छाप गरे मात्रै हुने किसिमले व्यवहार प्रस्तुत भयो । एकता भन्दा ठूलो कुरा सत्ता हुन पुग्यो । र, यही किसिमको प्रवृत्तिले निकै पटकका छलफलपछि पनि एमाले कहिले नेतृत्व त कहिले जनताको बहुदलीय जनवादलाई त्याग्न नसकिने अर्थहीन अडान राख्न पुग्यो ।
एकता गर्ने निर्णयका पछाडि एउटा मात्रै पवित्र उद्देश्य थियो–नेपाली समाजको समृद्धि, नेपालमा समाजवाद स्थापनाको आधार । साँचो अर्थमा हेर्दा एउटा कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य प्राप्तितर्फ अघि बढ्ने कार्यनीतिक चरण थियो पार्टी एकता । तर एमालेका लागि भने यो स्पिरिटले अर्थ राखेन ।
साँचो अर्थमा समाजवादी क्रान्तितर्फ एमाले अघि बढन खोजेको भए उसले आफैभित्र समेत कार्यदिशाको बहस शुरु गर्नुपथ्र्यो । बहुदलीय जनवादको परिवेश, परिस्थिति र त्यसको दायराभन्दा निकै अगाडिको चरणमा नेपाली समाजको विकास भइसकेको उत्पादक शक्ति र उत्पादनसम्बन्धमा देखिएको फरक अवस्थाले नयाँ कार्यदिशा उनीहरुले रोज्नुपथ्र्यो । यो नै अहिले एकताको स्पिरिट पनि थियो । तर एमाले नेताहरुलाई सकेसम्म एकता नगर्ने र गरेपनि माओवादीको विलयको रणनीति नै प्यारो भएपछि एकतामा बिभिन्न अडचनहरु देखिँदै गए ।
माओवादीको विलय चाहन्छ एमाले
एकता संयोजन समितिको पछिल्लो निर्णय र सार्वजनिक भएका तथ्यहरु हेर्दा नेकपा एमालेले पार्टी एकता होइन, बरु माओवादीको एमालेमा विलय खोजेको छ । मुख्य यसमा एमाले अध्यक्ष केपी ओली शर्मा समूहले यस्तो चाहेको छ । एमाले बहुदलीय जनवादबाट ‘टस न मस’ हुनुको अर्थ माओवादीको शक्ति र विचारलाई उसले स्वीकार गर्न नसकोको प्रमाणित हुन्छ । एकता माओवादीलाई मात्रै चाहिएको र आफूलाई नचाहिएको एमालेले प्रमाणित गरेको छ । खबर डवलीमा खबर छ ।
