पाण्डव शर्मा
दाङ । पूर्व परराष्ट्रमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अहिले तोकिएका अस्थायी राजधानीहरु सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण भएको बताएका छन् ।
दाङ महोत्सवको घोराहीमा उद्घाटन गर्दै महराले उपयुक्त ठाउँमा प्रदेश राजधानी बनाउने अभियानमा आफूहरु लागिरहेको बताएका हुन् ।
‘कैयौं सुरक्षाविद् साथीहरुले अहिले तोकिएका अस्थायी मुकामहरु सुरक्षाका हिसावले खतरा भएको सार्वजनिक अभिव्यक्ति दिइरहनुभएको छ,’ महराले भने, ‘हामीले उपयुक्त ठाउँमा नै राजधानी बनाउनुपर्छ भनेर लागिरहेका छौं, सम्भवत नयाँ सरकारले त्यो दिशामा निर्णय गर्ने छ ।’
तर, त्यो भन्दा पहिले प्रदेश सभा सदस्यहरुले उपयुक्त स्थानमा राजधानी तोक्ने महराले आशा व्यक्त गरे । अहिले नियुक्त भएका मुख्यमन्त्री र सभामुखहरुसँग यस विषयमा निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।
‘प्रदेश सांसदज्यूहरुले राजधानी जस्तो संवेदनशील विषयमा उपयुक्त निर्णय गर्नुहुने छ भन्ने हामीले आशा लिएका छौं,’ महराले भने ।
उनले प्रदेश राजधानीको कुरालाई निरन्तर उठाइरहन दाङबासीलाई आग्रह समेत गरे । प्रदेश ५ को राजधानी रुपन्देही तोकिएपछि दाङमा महराकै अगुवाईमा आन्दोलन भएको थियो । तर, पछि आन्दोलनको स्वरुप परिवर्तन गर्ने भन्दै बन्दको कार्यक्रम स्थागित भएको थियो ।
मुलुकमा संक्रमणकाल अन्त्य भएको उल्लेख गर्दै महराले अब बन्ने सरकारले नयाँ खाका बढाउने अपेक्षा गरे । ‘राष्ट्रिय विकासको खाकामा दाङको विकासलाई समाहित गर्न हामी लागि पर्ने छौं,’ महराले भने, ‘दाङ समृद्धिका लागि सबै पक्षहरुबीच सहकार्य हुन आवश्यक छ ।’