सहनशीला सबैको कथा हो पत्रकार सविन प्रियासन उपन्यासकारकारुपमा पनि परिचित छन् । पत्रकारिता क्षेत्रमा केन्द्रीय स्तरमै राम्रो हैसियत बनाएका प्रियासनले पाँच वटा उपन्यास प्रकाशित गरिसकेका छन् । उनले एउटा कथा संग्रह र एउटा सम्पादकीयको संग्रह पनि प्रकाशित गरेका छन् । प्रियासनको पछिल्लो प्रकाशन सहनशीला उपन्यास हो । जसलाई ब्रदर बुक्स प्रालि काठमाडौल् बजारमा ल्याएको छ । प्रस्तुत छ उपन्यास प्रकाशित हुनासाथ साहित्यीक क्षेत्रमा यसले अत्यधिक चर्चा कमाएपछि यसका लेखक सविन प्रियासनसँग हामीले गरेको कुराकानीको सारसंक्षप ।

sabin

  •  सहनशीला उपन्यास कसको कथा हो ?

संघर्ष गर्न नथाक्ने, दुःख–कष्टसँग पैठेजोरी गर्दै जिन्दगी आबाद बनाउने, गल्ती कमजोरी गरेपछि महसुस गर्ने, प्रेमको अर्थ अनि भावलाई गहिराईबाट बुझ्नेहरुको कथा हो सहनशीला उपन्यास ।

  • सहनशीलाले मुख्य के सन्देश दिन खोजेको छ ?

सहनशीलाले मानिसलाई सकारात्मक चेतसहित अगाडि बढ्नुपर्छ, कहिल्यै निराशाको भुमरीमा पिल्सनु हुँदैन भन्ने सन्देश दिएको छ ।

  • सहनशीला उपन्यासको कथा वस्तुको कुरा गरिरहँदा यसमा फरक तरिकाको प्रेम प्रसँग पनि उठाइएको छ । यस्तो पनि हुन्छ ?

समाजमा धेरै अप्रत्यासित घटनाहरु छन्, जसलाई हामीले स्विकारि रहेका छौं । सहनशीला उपन्यास विशेष गरी घरपरिवारको कथा हो । स–साना कुराहरुका कारण पनि सधैभरी साथ रहन्छु भन्ने कसम खाने जीवनसाथीहरु बीच कसरी दरार आउँछ । त्यसपछि मानिस शितलताको खोजीमा भौतारिन्छ । तर जहाँ गएपनि घर भनेको घर हो । चाहिने जीवनसाथी नै हो, चाहे त्यो केटाको लागि होस्, चाहे केटीको लागि । यस्तैयस्तै परिवेश भित्र अगाडी बढेको छ सहनशीला ।

  • सहनशीला उपन्यास कसरी तयार भयो ?

म धेरैजसो समाजमा घटेका घटनाहरुकै बारेमा लेख्ने गर्छु । सहनशीला उपन्यास पनि समाजमा घटि रहेका घटनाहरुमा अधारित छ । केही काल्पनिक कुराहरु पनि छन् । व्यक्ति किटाएर यही मान्छेको कथा हो भनि नहालौं । जिन्दगीको यात्रालाई अगाडि बढाउने क्रममा केही भोगाई अनि केही कल्पनाशीलतालाई जोडेर सहनशीला उपन्यास तयार भएको हो ।

  • तपाईको आफ्नै कथा त होइन ?

हा हा (हाँस्दै) होइन, होइन, यो सबैको कथा हो । यसैको हो भनेर भनि नहालौ । यस्ता घटनाहरु पाइलै पिच्छे हुने गर्दछन् ।

  • धेरैवर्ष पछि साहित्यमा फर्कनु भयो । तर फर्किएपछि वर्षमा दुईतीन वटा उपन्यास निकाल्न थाल्नु भयो नि ?

हो यहाँले भने झै मेरो साहित्यमा पुनरागमन भएको हो । पुनरागमन उपन्यास लिएर साहित्यमा फर्किएको थिए । अहिले पल्लवी हुँदै सहनशीला उपन्यास निकालेको छु ।  अब लगत्तै सेल्फी उपन्यास पनि निकाल्ने तयारीमा छु ।

  • नायीका नम्रता श्रेष्ठको बारेमा लेखिएको नोभेल नम्रता अहिलेसम्म बजारमा आएन नि ?

नोभेल नम्रता पनि तयार नै छ । नायीका नम्रता श्रेष्ठले मैले लेखेको बाहेक केही कुराहरु थप्छु, त्यसपछि निकालौला भन्नु भएको थियो । संयोग त्यसै भन्नुपर्छ, उहाँ र मेरो भेट हुन सकेको छैन । म दाङमा व्यस्त छु । उहाँ काठमाडौमा । त्यसैले नोभेल नम्रता निकाल्न पाएको छैन ।

  • अब कुन उपन्यास निकाल्ने तयारी गरिरहनु भएको छ ? 

अब लगत्तै सेल्फी त्यसपछि पल्लवी भाग दुई निकाल्ने तयारीमा छु ।

  • सेल्फी भन्नाले कस्तो विषय वस्तु छ यसमा ?

सेल्फी भन्नाले हामी सबैले फोटो खिच्ने कुरालाई सोँच्छौ । सेल्फी भनेको मानिसलाई आत्मनिर्भर बनाउने माध्यम हो । सेल्फी उपन्यासको मुख्य सन्देश मानिसले आफ्नो काम आफै गर्नुपर्छ भन्ने नै छ । यस बाहेक समर्पण, त्याग सहितको प्रेमका कुराहरु त उपन्यासमा हुन्छन् नै ।

  • तपाई पत्रकारितामा पनि अत्यन्त क्रियाशिल हुनुहुन्छ , कतिबेला साहित्य सिर्जना गर्न भ्याउनु हुन्छ ? 

सबै भन्दा ठूलो कुरा समय व्यवस्थापन हो । पत्रकारिता मेरो पेशा हो । साहित्य मेरो रुची । त्यसैले दुबै कुरालाई साथसाथै अगाडि बढाएको छु ।

  • पुस्तकहरु निस्कन्छन्, तर पाठक भेटिदैनन् । यसमा यहाँको भनाइ के छ ? 

यसमा विभिन्न कारणहरु छन् । यस मध्य पाठकहरुको मनमा स्थान बनाउने किसिमका पुस्तकहरु ननिस्किएकै कारणले पाठकहरु नभेटिएका होलान । तर पनि केही पुस्तकहरु पाठकहरुको अत्यधिक रोजाईमा परेका छन् ।

  •  सहनशीला उपन्यास विमोचन भएकै केही दिनमा यसले राम्रो बजार लिएको छ । सहनशीला उपन्यास राम्रो भएर हो कि, प्रकाशक संस्था वा तपाईको व्यक्तित्वका कारण हो ?

उपन्यास राम्रो नराम्रो छुट्याउने काम पाठक हो । जहाँसम्म बजारमा आएको केही दिनमै राम्रो प्रतिक्रिया आएको छ भन्ने कुराको पछाडि सबै कुराले काम गरेको छ । जसले गर्दा त्यति बिक्री हुनु स्वाभाविक छ ।

  • अन्तमा केही भन्नु छ कि ?

समय गतिशिल छ । जीवनको महत्वलाई बुझेर गतिशिल समयभित्र समाज अनि देशको समृद्धिका लागि आ–आफ्नो क्षेत्रमा भूमिका खेलौ । सबैलाई यही भन्न चाहन्छु ।