इन्द्रेणी संवाददाता
सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिकतामा बाहेक पार्टी एकता भइसकेको बताएका छन् ।
प्रेस सेन्टर प्रदेश नं. ६ सुर्खेतद्वारा मंगलवार सुर्खेतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पार्टी एकतालाई औपचारिकता मात्रै दिन बाँकी रहेको बताए । “अब एकता घोषणा हुन मात्र बाँकी छ, त्यसका लागि सकारात्मक छलफल भइरहेको छ, दुवै पार्टीका नेताहरुको कार्य विभाजन भएपछि एकताको मिति घोषणा हुनेछ”, उनले भने ।
नेता शर्माले एकताबाट बन्ने पार्टीको अध्यक्षको विषयमा दुवै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताउँदै एकता प्रक्रिया जनअनुमोदित भइसकेकाले यसमा कुनै शंका नगर्न आग्रह गरे । पार्टीको एकताको विपक्षमा जाने छुट कसैलाई छैन, शर्माले भने, “भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले एकतामा कुनै प्रभाव पार्ने छैन् ।”
