दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन ५ नं. प्रदेशको अध्यक्षमा मदन कुमार शर्मा चुनिनुभएको छ । संगठनको शनिबार घोराहीमा सम्पन्न प्रथम प्रदेश सम्मेलनले शर्माको नेतृत्वमा ८७ सदस्यीय प्रदेश समिति सर्वसम्मत चुनेको हो ।

madan kumar sharma

समितिका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष रोल्पाका यमप्रसाद अधिकारी, महिला उपाध्यक्ष बाँकेका गणेशा कार्की, उपाध्यक्षहरुमा सुवासचन्द्र बञ्जाडे (अर्घाखाँची), मोहनलाल वली (दाङ), डेलराज खनाल (गुल्मी) रहनुभएको छ ।

त्यसैगरी महासचिवमा रुपन्देहीका प्रेमबहादुर बस्नेत, अर्थ उपमहासचिवमा रुकुम पूर्वका दुर्गा गौतम, उपमहासचिवमा किरण देवकोटा (कपिलवस्तु), अर्थ सचिवमा बाँकेका विरेन्द्र मल्ल र सचिवहरुमा धर्मप्रसाद शर्मा (बर्दिया), विष्णुप्रसाद पोख्रेल (प्यूठान), शेषनारायण चालिसे (पाल्पा) रहनुभएको छ । संगठनको कार्यालय सदस्यका रुपमा दाङका माधव महरालाई तोकिएको छ ।

‘वैज्ञानिक शिक्षा नीति समाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, वामपन्थी शिक्षक एकता र शैक्षिक विकास हाम्रो कार्यभार’ भन्ने मूल नाराका साथ शुरु भएको ५ नं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन संगठनका पूर्वअध्यक्ष तथा शिक्षक महासंघका केन्द्रीय सह–अध्यक्ष रत्नबहादुर ओलीले गर्नुभएको थियो ।